लुम्बिनीमा माया कम्प्लेक्स

लुम्बिनीमा माया कम्प्लेक्स



काठमाडौं । सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्सको शुभारम्भ गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो । क्षेत्रीय विस्तारको एक भागको रूपमा सीई कन्स्ट्रक्सनले रूपन्देहीमा आफ्नो पदचिह्न विस्तार गरेको हो । सीईले त्यहाँं आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्ने परियोजना प्रस्तुत गरेको हो ।

पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी ल्याएको छ । त्यसमा ४० रोपनी जग्गामा फैलिएको ४८ इकाई स्वतन्त्र आवास हुने छन् । आयोजना बुद्धचोक, भैरहवाबाट ६ किलोमिटर र राजमार्गबाट १ दशमलव १ किलोमिटरको दूरीमा अवस्थित छ ।

‘ओन योर ओन होम’ नामक ट्यागलाइनको साथमा यो परियोजना ल्याइएको हो । सबै सुविधाहरूको साथमा बस्ने समुदायमा घर बनाउने सपना देख्नेहरूका लागि यो परियोजना लक्षित छ । माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र त्यहाँका बासिन्दाहरूको जीवनस्तर उकास्ने अन्य सुविधाहरू हुने छन् ।

दुई हजार ६० वर्ग फुटदेखि दुई हजार दुई सय वर्ग फुटसम्मको निर्माण क्षेत्र रहेको आधुनिक र परम्परागत लुकको संयोजनमा साढे दुई तले भवनको डिजाइन त्यहाँं गरिएको छ । विकासकर्ताहरूले घर खरिदकर्ताहरूलाई छनोट गर्नका लागि तीन प्रकारका डिजाइनहरू प्रस्ताव गर्नसक्ने जनाइएको छ ।

चार बीएचके हाउसमा भान्छा घर, बाथरुम, बस्ने र खाने ठाउँ, लुगा धुने कोठा, पूजा कोठा र परिवार कोठाका साथै बालकनी र कोठरी हुने छन् । विकासकर्ताहरुका अनुसार उनीहरुले सम्पत्तीको बुकिङ खुला गरिसकेकाले आवश्यकता अनुसार प्लट छनोट गर्न सक्ने छन् । ‘यो अत्याधुनिक आवासीय कम्प्लेक्स सुरु गर्नुको मुख्य उद्देश्य जीविकोपार्जन र आरामदायी जीवनयापनको स्तर उकास्ने हो, सीई कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक विजय राजभण्डारीले भने, ‘हामीले पहिलो चरणको मात्रै थालनी गर्दैछौं । अर्को चरणमा अपार्टमेन्ट र कमर्शियल कम्प्लेक्सको निर्माण गर्दैछौं ।’ उनले माया कम्प्लेक्सलाई यस क्षेत्रको ल्यान्डमार्क बन्ने परिकल्पना गरेको पनि बताए ।

सीई कन्स्ट्रक्सनं प्रालि २९ वर्ष अगाडि स्थापित नेपालकै सवैभन्दा पुरानो अनि विश्वसनीय रियल स्टेड (हाउजिङ, अपार्टमेन्ट निर्माण गरिदिने) कम्पनी हो ।