बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा



जुम्ला । बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् ।

माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ ।

पीडित महिलाका अनुसार पक्राउ पुर्जी जारी भए पनि प्रहरीको फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानिया खुलेआम घुमिरहेको र प्रहरी मूकदर्शक बनेको छ । बलात्कार जस्तो जघन्य अपराध गरेका सांसद बानियाँलाई चाडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने भए पनि प्रहरीले आलटाल गरेको पीडित पक्षको भनाइछ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानियाँलाई १/२ दिन भित्रै पक्राउ गरिने बताए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफै प्रहरी समक्ष उपस्थित भन्नु भएको थियो,’ एसपी अधिकारीले भने, ‘सांसद बानियाँ सम्पर्कमा नआएपछि पक्राउमा ढिलाइ भएको हो ।’