कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु, थपिए ३ हजार ६३७ संक्रमित

कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु, थपिए ३ हजार ६३७ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।

यसैगरी पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका प्रवक्ता डा मिश्रले जानकारी दिइन् ।