एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, १५ मिनेट र २ घण्टाका डेटा किन्न सकिने

एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, १५ मिनेट र २ घण्टाका डेटा किन्न सकिने



काठमाडौं। एनसेलले मोबाइल डेटा लक्षित ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। जसअन्तर्गत एनसेल प्रयोगकर्ताहरुले अब छोटो समय अर्थात १५ मिनेट र दुई घण्टाका लागि डेटा सेवा किन्न सक्ने छन्।

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात एक घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ। एनसेलका अनुसार ग्राहकहरुको आवश्यकता अनुरुप थप नयाँ दुईवटा डेटा प्याक ल्याइएको हो। अनलाइन गतिविधिहरूका निम्ति निश्चित समय इन्टरनेट आवश्यक पर्ने ग्राहकहरुलाई लागि यी प्याक उपयुक्त हुने एनसेलले जनाएको छ।

ग्राहकले करसहित १० रुपैयाँमा १५ मिनेटको डेटा प्याक र दुई घण्टाको डेटा प्याक ३० रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ। यी प्याकहरु चलिरहेको रहेको अवधिमा एनसेल प्रयोगकर्ताहरुले एक एमबीपीएस गतिमा डेटा चलाउन सक्ने छन्।

एनसेल प्रयोगकर्ताहरुले *१७१२३# डायल गरेर वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू किन्न सक्ने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताहरुले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै लिइरहेको खण्डमा उक्त प्याकबाटै अतिरिक्त डेटा प्रयोगको शुल्क काटिने एनसेलले जनाएको छ। यसअघि कुनै खास प्याक नचलाएको अवस्थामा भने पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्ने बताइएको छ। ननस्टप टाइम प्याकले अनलाइनमार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु लागि ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलको छ।

यी टाइम प्याकहरूको समयवधि ग्राहकले प्याक चलाएको समयको आधारमा गणना गरिने बताइएको छ। ‘यदी कुनै ग्राहकहरुले १ बजे २ घण्टाको टाइम प्याक खरिद गरेको भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुन्छ। आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकता अनुसार, ग्राहकहरूले यी प्याकहरू जति पटक पनि लिन सक्छन्,’ एनसेलले जनाएको छ।