आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार



काठमाडौं । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ यूनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

डिसेम्बर २०२१ मा ३५ हजार ३०० यूनिट कार उत्पादन गर्दै दोस्रो स्थानमा पर्न सफल भएको टाटा मोटर्सले जनवरी २०२२ मा ५ हजार ४७७ यूनिट कार बढी विक्री गर्न सफल भएको हो ।

सेमी कन्डक्टरको समस्या भोग्दै आएका अन्य ब्राण्डको तुलनामा टाटा मोटर्सले निकै तिब्र गतिमा गाडी उत्पादन गर्दै आएको छ । कम्पनीले २०२२ को पहिलो महिना जनवरीमा ४० हजार ७७७ यूनिट कार फ्याक्ट्रीबाट डिलरमा बढाएर नयाँ रेकर्ड बनाएको हो । टाटाले एकै महिना ४० हजार यूनिट पार गरेको पहिलो पटक हो ।

टाटा मोटर्सको विक्री बढ्नुमा सिएनजी भेरियन्टको पनि महत्वपूर्ण भूमिका देखिएको छ । जनवरी १९ तारिखमा टाटा मोटर्सले टियागो र टिगोरलाई सिएनजीमा उपलब्ध गराएको थियो । करिब १३ दिनको अवधिमा कम्पनीले ३ हजार यूनिट सिएनजी कार विक्री गरेको हो ।