ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै



काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली क्रिकेट पुरूष टोली आज ओमान जाँदैछ । विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन राष्ट्रिय टोली ओमान जान लागेको हो । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन् ।

छनोट चरणका खेल यही फेब्रुअरी १८ देखि २४ तारिखसम्म सञ्चालन हुनेछन् । समूह ए मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् । त्यस्तै समूह बी मा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन् । नेपालले ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा घरेलु टोलीविरुद्ध फेब्रुअरी १८ तारिखमा छनोट चरणको शुरूआत गर्नेछ ।

त्यस्तै नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउण्डमा फेब्रुअरी १९, तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका छ। समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनलका खेल फेब्रुअरी २२ तारिखमा हुनेछन् । फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने ट्वेन्टी(ट्वेन्टी विश्वकपको लागि छनोट हुनेछन् ।

​छनोट अघि नेपालले आयरल्याण्ड, युएई र ओमान सम्मिलित चारदेशीय ट्वेन्टी(ट्वेन्टी श्रृंखला खेल्नेछ । टोली राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ, क्यानले जनाएको छ ।