बाबरी, पानीफोटो र द सेक्रेट अफ राधा भदौमा रिलिज हुने

बाबरी, पानीफोटो र द सेक्रेट अफ राधा भदौमा रिलिज हुने



काठमाडौं । कोरोनाभाइरस संक्रमणको तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली फिल्म निर्माताहरू आफू निर्मित फिल्महरूको रिलिज मिति घोषणा गरिरहेका छन् । ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन मिति तोकिएसँगै विदेशी ठूला ब्यानरका फिल्महरूले घोषणा गरेको मिति हटाएर नेपाली फिल्मको डेट घोषणा गर्न सकस देखिएको छ । निर्माताहरूले खाली डेटमा आफ्नो फिल्म रिलिज हुने घोषणा गरिरहेका छन् । हलिउड, भारतीय फिल्मसँग नपर्ने गरी फिल्म चल्ने अनुमान गरेर हालै मात्र घोषणा गरिएका तीन फिल्म नै भदौमा प्रदर्शन हुनेछन् ।

पानीफोटो

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ १० भदौमा प्रदर्शन हुँदै छ । टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफुलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका छन् । उनी फिल्म ‘पानीफोटो’बाट निर्देशनमा होमिएका हुन् । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा केही समय ढिलाइ भएको ‘पानीफोटो’ आउँदो वर्ष १० भदौ २०७९ अर्थात् सन् २६ अगस्ट २०२२ मा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

स्वयं खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी युद्धको समयमा करिब डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शकमाझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुंगाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन काठमाडौंसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए,’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’जस्ता नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

द सेक्रेट अफ राधा

सुवर्ण थापा निर्देशित फिल्म ‘द सेक्रेट अफ राधा’को प्रदर्शन मिति शिवरात्रिको अवसर पारेर घोषणा गरिएको छ । २४ भदौ २०७९ मा फिल्म प्रदर्शन हुने जानकारी निर्माण पक्षले गराएका छन् । कोरोना भाइरस महामारीका कारण भएको दोस्रो लकडाउनको समयमा पालुङ आसपासमा छायांकन भएको फिल्मले आफ्नो प्रदर्शन मिति तय गरेको हो । फिल्ममा सौगात मल्ल, सृष्टी श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । साथै, यसमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन् । फिल्ममा निर्देशक थापासँगै अभिनेता सौगात मल्लको समेत लगानी छ । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा संयुक्त रूपमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ ।

बाबरी

३१ भदौ २०७९ मा ‘बाबरी’ रिलिज हुने भएको छ । शिवरात्रिको अवसर पारेर सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को रिलिज मिति घोषणा गरिएको हो । धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको फिल्मको तीनै पात्रको क्यारेक्टर नामसहित टाइटल पोष्टरसमेत सार्वजनिक गरिएको छ । फिल्ममा अदितीले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन् ।बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्मको कथा स्वयं निर्देशक पौडेले नै लेखेका हुन् । पुष्पा अधिकारी निर्माता रहेको फिल्ममा सहनिर्मातामा सुष्मा गुरुङ छन् । नरेन्द्र मैनाली सिनेम्याटोग्राफर रहेको फिल्मलाई काठमाडौंसँगै झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । यसमा मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।