अस्वस्थ प्रतिस्पर्धाले सिमेन्टको गुणस्तर खस्कियो

अस्वस्थ प्रतिस्पर्धाले सिमेन्टको गुणस्तर खस्कियो



– समीरा भण्डारी –

काठमाडौं । एकपटकको ढलान पूरै भत्काएर फेरि अर्काेपटक घर ढलान गर्दा पनि घरको छत सेट नभएपछि तुलसीपुर उपमहानगरपालिका–११ उरहरी ठूला गाउँका ५० वर्षीय बिजुली चौधरी यतिखेर तनावमा छन् । ३२ फिट चौडाइ र लम्बाइ साढे ३५ फिटको चार कोठे भवन मंसिरदेखि निर्माण थालेका चौधरीले पहिलोपटक २५ पुसमा घरको छत ढलान गरेको बताए । दाङको घोराही सिमेन्ट उद्योगको सिमेन्ट प्रयोग गरी उनले घर निर्माण गरिरहेका छन् ।

गुणस्तरहीन सिमेन्टकै कारण २३–२४ दिनसम्म पनि छत ढलान सेट नभई फुसफुस उक्किन थालेपछि चौधरीले हार्डवेयर कम्पनीलाई खबर गरेको बताए । उनले उरहरी गाउँकै जैसी हार्डवेयरबाट सगरमाथा पिपीसी गोल्ड सिमेन्ट किनेका थिए । हार्डवेयर सञ्चालक नन्दलाल जैसीलाई उनले छत सेट नभएको कुरा अवगत गराए । जैसी गएर अवलोकन गरे । छत हेरेपछि उनले घोराहीस्थित सगरमाथा सिमेन्टमा फोन सम्पर्क गरे । कम्पनीका कर्मचारी अमर सुवेदीलगायतका मानिस आएर अवलोकन गरे ।

विजुलीप्रसादको घरको छत मात्र होइन, गुणस्तरहिन सिमेन्टको प्रयोगले निर्माणाधीन झापा मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलाको पक्की पुल ढलान गर्दागर्दै भत्किएको थियो । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल ९ वर्ष धकेलिँदा समेत ढलानकै क्रममा भत्किएको हो ।

पछिल्लो समय सिमेन्टको गुणस्तर खस्केकाले यस्ता घटनाहरु वर्षेनी दोहोरिरहेका छन् । सिमेन्टमा नेपाल आत्मनिर्भर भए पनि अस्वस्थ्य प्रतिस्पर्धाले गुणस्तरमा ह्रास आएपछि यस्ता घटना दोहोरिने गरेको निर्माण व्यवसायीहरु गुनासो गर्छन् । मुलुकमा ६५ वटा सिमेन्ट उद्योग छन्, उनीहरु गुणस्तरमा सम्झौता गरेर कम मूल्यमा विक्री गर्न बाध्य भएको बताइन्छ ।

पछिल्लो समय सिमेन्टमा लाइम डस्ट (चुन ढुंगाको धुलो) प्लाइ आस (खरानी) र चिप्सको मिसावट बढी मात्रामा पाइने गरेको प्राविधिकहरु बताउँछन् । यसै वर्ष नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सिमेन्टको गुणस्तर अनुरूप उत्पादन नगर्ने ६ उद्योगलाई कारबाही गरेको थियो । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना संकलन प्रयोगशालामा जाँच गर्दा गुणस्तर अनुरूप नपाएको भन्दै कारबाही गरेको हो ।

प्रतिस्पर्धाको नाममा कम गुणस्तर सिमेन्टले विकास आयोजनाहरु प्रभावित भएको बताइएको छ । पुल पुलेसा, जलविद्युत आयोजना तथा भौतिक निर्माणमा असर पुगेको निर्माण व्यवसायी तथा ऊर्जा उत्पादक संघको भनाइ छ । एउटै सामाग्री कहिले गुणस्तरयुक्त आउने, कहिले कम गुणस्तरको बजारमा आउँदा निर्माण कार्य प्रभावित बनेको उनीहरुको भनाइ छ । सिमेन्ट उपभोक्तामा दुविधा उत्पन्न भएकाले निर्माण व्यवसायीहरु अलमलमा परेका छन् ।

छिमेकी मुलुकभन्दा नेपालमा सिमेन्ट महँगो भए पनि उद्योगले गुणस्तरमा सम्झौता गर्नु दुर्भाग्य भएको एक निर्माण व्यवसायीले ग्लोब नेपाललाई बताए । उनका अनुसार छिमेकी मुलुकमा छिमेकी देशको तुलनामा नेपालमा सिमेन्टको मूल्य उच्च छ । जसले गर्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत अवरोध उत्पन्न भएको व्यवसायीहरु बताउँछन् ।