मीनबहादुरको नियति: नदिए नि धर छैन, दिएर पनि चैन छैन

मीनबहादुरको नियति: नदिए नि धर छैन, दिएर पनि चैन छैन



नेपालमा मीनबहादुर गुरुङभन्दा धेरै कमाउनेहरु पनि छन् र पार्टीलाई चन्दा दिनेहरू पनि छन् । तर, ढंग नपुग्दा फेरि मीनबहादुर नराम्ररी विवादमा तानिएका छन् । राम्रो सोचविचार नगरी बढी उदारता देखाउँदाको परिणाम यतिबेला उनले व्यहोरिरहेका छन् ।

अझ सहयोग दिन होस् वा दान, सही पात्र र सन्दर्भ मिलेन भने दिनेको सोच र भावना जस्तो सुकै भएपनि त्यसको कसरी अपव्याख्या हुन्छ भन्ने कुरा मिनबहादुरले यतिबेला महसुस गरिरहेको हुनुपर्छ । एमाले पार्टीलाई दिएको जग्गा दान होस् वा कांग्रेसका धनराज गुरुङलाई दिएको ऋण सहयोग, दुवैमा उनी विवादमा तानिएका छन् ।

उनको व्यवसाय यतिबेला सवैको तारो बनिरहेको स्पष्टै छ । लामो समयदेखि देशको बन्द व्यापारमा एकछत्र हालीमुहाली गरिरहेका घराना, समूह र वर्गहरुको सधै उनी आँखाको कंसिगर बन्दै आइरहेको बेला राज्य पनि उनी विरुद्ध लाग्ने परिस्थिति बनेपछि पक्कै हतोत्साही बनेकाे हुनुपर्छ ।

यसैकारण दह्रो राजनीतिक शक्तिको आश्रय खोज्ने उनको निर्णय हो वा उनलाई त्यो भरोसा दिलाउने समूहका कारण फेरी एकपटक घनचक्करमा फसेका छन् । यसबाट उनको व्यवसायमा तत्काल र दीर्घकालीन असर पर्ने भने पक्का छ ।

त्यसो त उनी विवादमा परेको यो पहिलो घटना भने होइन । उनले दिएको सहयोग होस् वा दान धेरैमा उनी पटकपटक विवादमा तानिएका छन् । जाजरकोटमा गएको भुकम्प लगत्तै प्रधानमन्त्री राहत कोषका लागि सबैभन्दा पहिले श्रीमती सहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर एक करोड रुपैयाँ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए ।

उनको यो सहयोगलाई लिएर सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया आएपनि अन्य व्यापारिक घरनाहरु र उद्यमी व्यवसायीहरू भने उनीसँग रुष्ट भए । देशमा आर्थिक मन्दीको कारण उद्योगधन्दा, बन्दव्यापार चौपट भएको देखाएर सरकारबाट कर छुट लिने प्रयास गरिरहेका व्यापारीहरु मीनबहादुरले एक करोड रुपैयाँ भुकम्प पीडितको लागि चन्दा दिएपछि नैतिक संकटमा परेका थिए । ‘सहयोग नगराैं त मीनबहादुरले एक करोड बुझाएर आए, गरौं त बन्दव्यापार चौपट छ, बडो अप्ठेरोमा पारिदए’ भन्ने गुनासोहरू पनि त्यतिबेला सुनिएको थियो ।

ललिता निवास जग्गा प्रकरणपछि विरक्तिएको मन, पछिल्लो समय मीनबहादुरको सोचमा आएको परिवर्तन र व्यवहारबाट भने उनका व्यापारिक साझेदार र निकटतम व्यक्तिहरू समेत झस्किरहेका छन् । उनी हदभन्दा बढी मनकारी भएर निस्कँदा भाटभटेनीले जुन गतिमा व्यवसायिक छलाङ मार्दै आइरहेका छ, त्यसले लय गुमाउने हो कि भन्ने चिन्ता पनि बढाइरहेको छ ।

सरकारको राहत कोषमा एक करोड बुझाएर फर्के लगत्तै ३ महिनाभित्रै जाजरकोट भुकम्प पीडितहरुका लागि ३ सय घर बनाईदिने योजना उनले बुनेका थिए । त्यो योजनाको बारेमा आफ्नो कम्पनीको टिम र प्राविधिकहरुसँग समेत सर–सल्लाह गरेका थिए । तर, सरकारबाट ग्रीन सिग्नल नआएको कारण उनले त्यो काम भने अगाडी बढाउन पाएनन् । यदि त्यो प्रोजेक्ट मीनबहादुरले गर्न पाएको भए विपद् पछाडीको पुनःनिर्माणमा एउटा नयाँ उदाहरण बन्ने थियो भनेर उनका प्राविधिक टिमका सदस्यहरू बताउछन् ।

भुकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप पीडितदेखि डा. भगवान कोइरालाले थालेको बाल अस्पताल निर्माणलाई मीनबहादुरले दिएको सहयोग रकमले धेरैलाई झस्काइदिएको छ । याचकले अपेक्षा नै नगरेको रकम दान दिएपछि यसको चौतर्फी चर्चा हुने नै भयो । उनको अनपेक्षित सहयोगबाट सहयोग माग्ने नै झस्किएका धेरै उदाहरणहरु छन् । मीनबहादुरबाट सहयोग पाएपछिको डा. भगवान कोइरालाको तत्कालीन मनोभाव र अभिव्यक्तिलाई नियाल्दा पनि यो कुरा स्पष्ट हुन्छ ।

आखिर मीनबहादुर यसरी किन दिल खोलेर सहयोग गरिरहेका छन् त ? यसमा उनको कुन मनोभावले काम गरिरहेको छ ? यतिबेला सर्वत्र कौतुहल्ताको विषय बनिरहेको छ । उनका निकटतमहरु ललिता निवास जग्गा काण्डमा जवर्जस्ती लान्छित हुने अवस्था बनेपछि मीनबहादुरको विरक्तिएको मनको परिणतिको रुपमा लिईरहेका छन् भने बढ्दो उमेरसँगै आफ्नो मुनाफाको ठूलो हिस्सा समाजसेवामा दान दिने रतन टाटा जस्ता व्यक्तिहरूबाट उनी पनि प्रभावित भइरहेको चर्चा पनि हुने गरेका छन् ।

अझ आफ्नो दोस्रो पुस्ताले आफ्नो व्यापारिक साम्रराज्यलाई सही ढंगले धानिदेला भन्नेमा उनी विश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले पनि भाटभटेनीको सेयर सर्वसाधारणसम्म पु-याएर यसलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने योजनामा उनी रहेको उनका निकट व्यक्तिहरू बताउने गर्छन् । उनी भावनामा यसरी बग्छन् कि मन लागे आफ्नो सर्वस्व दिन पनि नहिच्किचाउने मान्छे हुन् भनेर उनलाई नजिकबाट चिन्नेहरु बताउने गर्छन् ।

प्राकृतिक प्रकोप पीडितदेखि बाल अस्पतालसम्मको उनको सहयोगलाई मानिसहरूले सह्रना गरिरहेको बेला एमालेलाई जग्गा र भवन दान दिने उनको निर्णयप्रति भने चौतर्फी आलोचना बढिरहेको छ । केहीले ललिता निवासको जारी मुद्दाबाट उन्मुक्ति पाउन राजनीतिक साहरा खोजेको रुपमा व्याख्या गरिरहेका छन् भने, कतिपयले बहकिएको उनको मनलाई एमालेले ‘क्यास’ गरेको भनेर पनि अर्थ -याईरहेका छन् ।

कतिपयले भने मीनबहादुरले एमालेलाई सहयोग गरेर अबको निर्वाचबाट सांसद बन्ने बाटो तय गरेको हो भन्ने अनुमान लगाइरहेका छन् । तर, मीनबहादुरले सार्वजनिक कार्यक्रम तथा अन्तर्वार्ताहरुमा आफू यो जूनीमा सांसद, मन्त्री केही नबन्ने भनेर स्पष्ट रुपमै भन्दै आएका छन् ।

मीनबहादुरले अब भाटभटेनी स्टोरको विस्तार अहिलेलाई स्थगित गर्ने बताइसकेका छन् । भाटभटेनी सुपर स्टोर जति विस्तार हुन्छ देशभर त्यतिनै रोजगारीको अवसर सँगै आर्थिक गतिबिधिलाई पनि चलयमान तुल्याउन मद्दत गर्दछ ।

मीनबहादुरको भाटभटेनी सुपर स्टोरमा महंगो ब्राण्डेड समानदेखि साना कृषकहरूले उत्पादन गरेका एक मुठा सागको समेत किनबेच हुने गर्दछ । जहाँ–जहाँ भाटभटेनी विस्तार हुन्छ, बजार नपाएका त्यहाँका स्थानीय उत्पादन र कृषि उपजहरूले समेत सहज बजार पाएका छन् । त्यो तराईका आँप हुन् या मुस्ताङ र जुम्लाका स्याउ । बाहिरभन्दा सस्तो र सहुलियत दरमा एउटै छानामुनि किन्न पाएको अनुभव त आम उपभोक्ताहरुले गरिरहेको कुरा हो ।

स्वदेशमा आफ्नो लगानी सुरक्षित देखेन र त्यो प्रत्याभूति भएन भने उद्योगी व्यापारीहरूले आफ्नो लगानी अन्यत्र विस्तार गर्ने सम्भावना रहन्छ । नेपालका कहलिएका कतिपय उद्योगी व्यवसायीहरुले नाफाको तीन भागको एक भाग नेपालमा राख्ने र बाँकी दुई भाग विदेश पुर्याउने गरेको चर्चा पनि चलिरहेकै छ ।

नेपालको पैसा कसरी विदेशिएको छ भन्ने कुरा अष्ट्रेलियाको त्यहाँको अर्थ मन्त्रालय अर्थात् ट्रेजरीले केही समय अघि जारी गरेको वैदेशिक लगानीको पछिल्लो विवरणबाट प्रष्ट हुन्छ । अष्ट्रेलियामा वैदेशिक लगानी गर्नेमा नेपालीहरू १०औं स्थानमा रहेका छन् । त्यहाँको घर जग्गामा नेपालीहरूले १ मिलियन अष्ट्रेलियन डलर अर्थात् नेपाली रुपैयाँ झण्डै ८ अर्व ८२ करोड रुपैयाँ लगानी गरेका छन् ।

यो लगानी भनेको त्यँहाको पिआर नलिएका नेपालीहरुको गणना हो । पिआर लिएकाहरुको लगानीलाई अष्ट्रेलियाले वैदेशिक लगानीमा गनणा गर्दैन । यो रकम अष्ट्रेलियाको पिआर नलिएका र अस्थायी भिजामा त्यहाँ पुगेकाहरूले पु-याएको रकम हो । यो त एउटा उदाहरण मात्र हो, अष्ट्रेलिया जस्तै बेलायत, अमेरिका, क्यानडा लगायत अन्य देशहरूमा नेपालबाट कसरी रकम बाहिरिरहेको छ भन्ने यसबाट पनि स्पष्ट हुन्छ ।

मीनबहादुरको भाटभटेनी सुपर स्टोरमा महंगो ब्राण्डेड समानदेखि साना कृषकहरूले उत्पादन गरेका एक मुठा सागको समेत किनबेच हुने गर्दछ । जहाँ–जहाँ भाटभटेनी विस्तार हुन्छ, बजार नपाएका त्यहाँका स्थानीय उत्पादन र कृषि उपजहरूले समेत सहज बजार पाएका छन् । त्यो तराईका आँप हुन् या मुस्ताङ र जुम्लाका स्याउ । बाहिरभन्दा सस्तो र सहुलियत दरमा एउटै छानामुनि किन्न पाएको अनुभव त आम उपभोक्ताहरुले गरिरहेको कुरा हो ।

ललिता निवास जग्गा प्रकरणपछि विरक्तिएको मनसँगै पछिल्लो समय मीनबहादुरको सोचमा आएको परिवर्तन र व्यवहारबाट भने उनका व्यापारिक साझेदार र निकटतम व्यक्तिहरू समेत झस्किरहेका छन् । उनी हदभन्दा बढी मनकारी भएर निस्कँदा भाटभटेनीले जुन गतिमा व्यवसायिक छलाङ मार्दै आइरहेका छ, त्यसले लय गुमाउने हो कि भन्ने चिन्ता पनि बढाइरहेको छ ।

उनी सामान्य व्यक्तिबाट आफ्नो भिजन, लगन र मिहेनतबाट माथि उठेका हन् । उनले प्राप्त गरेको सफलतालाई अनादर नगरी मुल्याङकन गर्ने हो भने अन्य उद्योगी व्यापारीहरुको तुलनामा मीनबहादुरले राष्ट्र र जनता दुवैलाई धेरै नै दिईसकेका छन् । कम्तिमा उनले आर्जन गरेको सम्पत्ति देश वाहिर लगेर लगानी विस्तार गरेका छैनन् । जे कमाएका छन् यँही लगानी गरेका छन्, रोजगारी सृजना गरेका छन् र राष्ट्रलाई परेको बेला सहयोग गरेका छन् ।

दसौँ हजारलाई प्रत्यक्ष रोजगारी दिएर, महिनामै अर्बौँ रकम राजस्व तिर्ने यस्ता व्यापारीहरूले राज्यको दोहन मात्र गरिरहेका छन् र उपभोक्तालाई ठगेर आफू मात्र धनी बनिरहेका छन् भन्ने भाष्य सृजना गरियो भने यसबाट घाटा हुने भनेको अन्ततः देशलाई नै हो ।

उनको व्यवसायबाट प्रत्यक्ष लाभान्वित भएका र रोजगार पाएका वर्गहरु भनेका कम पढाई र सीप भएका अधिकांस सर्वसाधारणका छोराछोरीहरू हुन् । जहाँ सिधै गाउँघरबाट आएका र सहज रोजगारको अवसर पाएर आफ्नो शिक्षा र जीवनलाई अघि बढाईरहेका युवाहरू हरुको बाहुल्यता रहेका छन् ।

यसका अतिरिक्त शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षको भवन र दुर्गम क्षेत्रमा गएर गरिब र निमुखा नेपालीहरुलाई निश्चित समयसम्म सेवा दिने शर्तमा उनले प्रदान गरेको छात्रवृत्तिमा १७ जनाभन्दा बढी सर्वसाधारणका छोराछोरी डाक्टर बनिसकेका छन् ।

महाभुकम्प र कोरोना कहर पछिको विषम परिस्थितीमा दैनिक उपभोग्य बस्तुहरुको सहज उपलब्धता र यस्तो बेला हुने गरेको कृतिम मुल्यबृद्धि रोक्न भाटभटेनी सुपर स्टोरले पुर्याएको योगदान विर्सिए भने अन्याय हुनसक्छ ।

पुर्वाग्रह नराखी भन्ने हो भने सर्वसाधारण नेपालीहरुलाई सहज र सहुलियतपूर्ण दरमा एउटै छानोमुनी सवै कुराहरूको सहज किनमेलको अवसर मात्र हैन सर्वसाधारणलाई स्वदेशमै आधुनिक जमानाको किनमेलको अनुभव गर्ने अवसर समेत भाटभटेनीले उपलब्ध गराएको छ ।

यतिबेला सर्वसाधारणदेखि नेपाल स्थित कुटनीतिक नियोगका उच्च पदस्थ व्यक्तिहरू समेत एकसाथ किनमेल गरिरहेको देखिने एकमात्र ठाउँ भाटभटेनी सुपर स्टोर भएको छ । यस अर्थमा यसले देशको प्रतिष्ठा अभिवृद्धिमा पनि एक हिसावले योगदान पु-याएको छ ।

राज्यलाई योगदान पु-याएका यस्ता उद्योगी व्यापारीहरूलाई कर, बल र छल गरेर विवादमा पारेर हतोत्साही तुल्याउने कार्य अन्ततः राष्ट्रकै लागि पनि हितकारी नहुन सक्छ भन्ने तर्फ मनन गर्नु जरुरी छ । नेपालबाट ठूलो रकम विदेशिएकोले त्यसलाई रोक्न र स्वदेशमा लगानी आकर्षण गर्न छलफल र बहस भइरहेको बेला एउटा प्रतिष्ठित व्यवसायीलाई लखेट्न खोज्नु मुर्खता सिवाय अरु केही होइन ।