नेपाली नोटमा चुच्चे नक्सा, भाजपा नेता जोलीको आपत्ति

नेपाली नोटमा चुच्चे नक्सा, भाजपा नेता जोलीको आपत्ति


ग्लोब नेपाल
81
Shares

काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालले विवादित सीमा क्षेत्रलाई रुपैयामा राखेको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘सीमालाई लिएर चीन र भारतको बिचमा पनि विवाद रहेको छ, तर त्यो विवादित ठाउँलाई आफ्नो रुपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रुपैयाँमा छाप्दा मलाई दुःख लागेको छ ।’

आज (शनिबार) राष्ट्रिय एकता अभियानले आयोजना गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा उनले विवाद झिकेर लिपुलेक जस्ता ठाउँलाई नक्सामा ल्याएको भन्दै आपत्ति व्यक्त गरेका हुन । उनले भने, ‘मैले विश्वका ९४ देशको भ्रमण गरेको छु कुनै पनि देशको रुपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापेको देखेको छैन ।’

उनले यो विवादलाई संवादमार्फत समाधान गर्न सकिने समेत बताए । तर त्यसका लागि प्रयास नभएको बताउँदै उनले भने– ‘एउटा परिवारमा मतभेद हुन्छ तर त्यसलाई संवादमार्फत समाधान गर्न सकिन्छ त्यसका लागि सुझबुझको आवश्यकता छ ।’

नेपालमा नाकाबन्दी हुँदा समेत नेपालको नेतृत्वले युएनमा गएर भारत विरुद्धमा उजुरी गरेको गुनासो गर्दै जोलीले जुन काम भारतले गरेकै थिएन त्यसको गुनासो युएनसम्म पुर्याउनुको अर्थ नभएको बताएका छन ।

नेपाल र भारत बिचको सम्बन्ध बेटी रोटीको सम्बन्धभन्दा माथि रहेको बताउँदै उनले विश्वमै यो सम्बन्ध अद्भूत रहेको बताए । नेपाल र भारतमा मात्र होइन विश्वका जुनसुकै देशमा यी दुई देशका मान्छे बसेका र त्यहाँ उनीहरुको बिचमा राम्रो सम्बन्ध रहेको भन्दै जोलीले प्रशंसा गरेका छन ।

सांस्कृतिक एकता समेत बलियो राख्न नेपाल–भारतबिचको सम्बन्ध सशक्त रहनुपर्ने उल्लेख गर्दै उनले दुवै बराबरी रहेको बताए । नेपालमा भइरहेको धर्म परिवर्तनले आफूहरूलाई चिन्तित बनाएको समेत उनले बताए । जोलीले नेपालमा धर्म परिवर्तन विरुद्धको कानुन भए पनि धर्म परिवर्तनको गतिविधि चलिरहनु चिन्ताको विषय भएको बताए ।