नेबिकोले ल्यायो चार नयाँ उत्पादन, थप पाँच उत्पादन चाँडै आउने, यो वर्ष १३ नयाँ प्रडक्टको योजना

नेबिकोले ल्यायो चार नयाँ उत्पादन, थप पाँच उत्पादन चाँडै आउने, यो वर्ष १३ नयाँ प्रडक्टको योजना



काठमाडौं । करिब ६ दशक पुरानो नेपाली बिस्कुट ब्रान्ड ‘नेबिको’ ले चारवटा नयाँ उत्पादन बजारमा ल्याएको छ। नेबिको बिस्कुट प्रालिले डाइजेस्टिक बिस्कुटसहित, कुरुम कुरुम चिउरा, साल्टेड पिनट्स र कुकिज बजारमा ल्याएको हो।

नेबिकोले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी डी ५० डाइजेस्टिभ बिस्कुट, कुरुमकुरुम चिउरा, साल्टेड पिनट र नाइस कुकिज सार्वजनिक गरेको हो। यी उत्पादनमध्ये डी ५० डाइजेस्टिभको बजार मूल्य ५० रुपैयाँ, साल्टेड पिनट्सको २० रुपैयाँ, कुकिजको ५० रुपैयाँ र कुरुम कुरुम चिउराको प्रतिकेजी ९५ रुपैयाँ तोकेको छ।

नेपाली बजारबाट विदेशी बिस्कुटलाई विस्थापित गर्ने लक्ष्य राखेको नेबिकोले डी२०, डी५० र डी१०० गरी वजन अनुसार तीन वर्गका डाइजेस्टिभ बिस्कुट उत्पादन गर्न थालेको कम्पनीका कन्ट्री सेल्स म्यानेजर प्रकाश कार्कीले जानकारी दिए। यस्तै, चितवनको चिउरालाई नेबिकोले ब्रान्डिङ गरेर बजारीकरण गर्न खोजेको पनि उनले बताए। साथै, कुकिजमा भने परम्परागत प्याकेटलाई परिमार्जन गरेर नयाँ ट्रान्सपरेन्ट प्याकेजिङ गरिएको छ ।

कम्पनीले स्न्याक्सका रुपमा साल्टेड पिनट्स उत्पादन गरेको जनाएको छ। अहिले चार नयाँ उत्पादन लञ्च गरेको नेबिकोले थप ५ वटा उत्पादनहरु केही दिनभित्रै सार्वजनिक गर्ने योजना रहेको कम्पनीका ब्रान्ड म्यानेजर अरुण पौडेलले बताए। नेपाली भान्छामा प्रयोग हुने अन्य खाद्य वस्तुहरु पनि ल्याउने तयारी गरिरहेको उनको भनाइ छ।

‘चालु आर्थिक वर्षमा १३ वटा नयाँ उत्पादन ल्याउने लक्ष्य राखेको थियौं। गत साउनमा बालाजुको उद्योगमा आगो लागेपछि नयाँ उत्पादन ल्याउने योजना प्रभावित भएको थियो। केही ढिलै भए पनि हामीले अब नयाँ प्रडक्ट लाइन ल्याउन सुरु गरेका छौं,’ पौडेलले भने।