सबैका लागि स्वस्थ्य मृगौला

सबैका लागि स्वस्थ्य मृगौला



काठमाडौं । विश्व मृगौला दिवस आज नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

दिवसका लागि यस वर्षको नारा “सबैका लागि स्वस्थ्य मृगौला” भन्ने तय गरिएको छ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङक छ । विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ ।

नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्वन्धी कुनै न कुनै रोगबाट पीडित छन् । नेपालमा हरेक बर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको तथ्याङक छ । मधुमेह रोग भएका विरामीहरुलाई त मृगौलाको रोग हुने संभावना अझ ३ गुणा बढी हुन्छ ।

मृगौला रोगको उपचार हुने भए पनि त्यो महँगो भएकाले सहज मानिदैन । नेपाल सरकारले निःशुल्क मृगौला प्रत्यारोपण र डाइलासिसको सुविधा उपलव्ध गराएको भएपनि औषधीकै लागि विरामीले लाखौं रुपैया खर्च गरिरहनु परेको छ ।

त्यसैले मृगौलाको समस्या देखिनु अगावै खासगरी मधुमेह र उच्च रक्तचापका समस्या तथा अधिक मोटोपन भएका र परिवारमा यस्तै समस्याका अन्य सदस्य भएका एवं आँखाको डिल सुन्निने, गोलीगाँठा सुन्निने जस्ता समस्या भएकाहरुले नियमित मृगौला जाँच गराउन चिकित्सकहरुको सुझाव छ ।