आशुतोष अधिकारी
२० सिजन, २०७० फुटबल म्याच, १५६३ गोल, ५५५ असिस्ट, ७१ उपाधिहरू, १२ बलोन डि/ओर, १० गोल्डेन बुट………., फुटबल खेलमा चासो नराख्नेहरूलाई यी तथ्याङ्कहरूका बारेमा अनुमान लगाउन गाह्रो पर्ला, तर यदि तपाईँ फुटबललाई माया गर्नुहुन्छ, यो खेललाई पछ्याउनुहुन्छ भने चाहिँ तपाईँका लागि यी तथ्यहरू नौला विषय नहुन सक्छन्। एक्काइसौँ शताब्दीको मात्र होइन, सम्भवतः फुटबल खेलको इतिहासमै यो खेलले पाएको अहिलेसम्मकै प्रतिभावान् दुई खेलाडीहरूले आफ्नो दुई दशक लामो व्यावसायिक खेलजीवनका क्रममा हासिल गरेका उपलब्धिहरूको फेहरिस्त हो यो। यी दुई खेलाडीका बारेमा यी तथ्यहरूले नै धेरै कुरा बताइरहेका छन्।
हो, हामी यहाँ लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको चर्चा गरिरहेका छौ, जसले पछिल्लो दुई दशकका दौरान फुटबल खेललाई आफ्नो काँधमा बोकेर लगातार अगाडि बढिरहे, आफ्नो कौशलद्वारा फुटबल खेलको विशिष्ठतालाई अर्को उचाईमा पुरयाए अनि यही खेलको माध्यमबाट विश्वभर खुसी बाँडिरहे र भाइचाराको भावना विकास गर्न सफल भए। एक्काइसौँ शताब्दीका दुई दशकमा अन्य कुनै पनि खेलाडी यी दुई खेलाडीले हासिल गरेको सफलताको छेउछाउ समेत देखा पर्न सकेनन्। फुटबल खेलमा यिनीहरूको प्रभाव कस्तोसम्म रह्यो भने यिनले सारा संसारभरका फुटबल प्रेमीहरूलाई दुई धु्रवमा विभाजित गरिदिए, एकथरि मेसीप्रेमी अनि अर्काथरि रोनाल्डोप्रेमी।
यी दुवै खेलाडीहरू जीवनमा जुन उचाईको सफलता हासिल गरे, त्यसका पछाडि लुकेको कथा सरल भने छैन। दुवैले ठूलो त्याग, संघर्ष र कडा मेहनतबाट त्यो स्थान हासिल गरेका हुन्। यी दुवै खेलाडीको पृष्ठभूमिमा धेरै समानता थिए। क्रिस्टियानोको जन्म युरोपको पोर्चुगलमा भएको थियो भने मेसीको दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा। यी दुवै देशमा फुटबल निकै लोकप्रिय छ। तर ती दुवै देशको आर्थिक स्थिति त्यति सन्तोषजनक भने थिएन। आर्थिक रूपमा यी दुवै खेलाडीको पारिवारिक पृष्ठभूमि पनि एकदमै सामान्य थियो जहाँ कुनै पनि प्रतिभा फल्ने–फुल्ने सम्भावना ज्यादै न्यून रहन्थ्यो। भाग्यको खेल पनि मान्नुपर्छ– यी दुवैले आफ्नो पारिवारिक पृष्ठभूमिबाट बाहिर आएर आफ्नो प्रतिभालाई प्रस्फुटित गर्ने अवसर प्राप्त गरे। कसरी क्रिस्टियानोले १६ वर्षको उमेरमै पोर्चुगलको सबैभन्दा चर्चित फुटबल क्लव स्पोर्टिङ लिस्वनको ‘ए’ टिमबाट डेब्यू गर्ने अवसर पाए, अनि कसरी ‘ग्रोथ हर्मन डिसअर्डर’ (शरीरका अङ्गहरूको क्रमिक विकास अवरुद्ध हुने रोग) ले ग्रसित एकजना १२ वर्षको फुच्चे केटोलाई संसारकै सबैभन्दा प्रतिष्ठित क्लव बार्सिलोनाले आफ्नो क्लवमा अनुवन्ध गर्यो भन्ने कुराको चर्चा धेरै नै भइसकेको छ। यी दुई खेलाडीहरूको वास्तविक कथाको शुभारम्भ भने त्यही बिन्दुबाट हुन्छ।
रोनाल्डोले आफ्नो व्यावसायिक खेलजीवनको शुरुवात पोर्चुगलबाट गरे। २००३ को एउटा प्रि–सिजन फ्रेन्ड्ली म्याचमा म्यानचेष्टर युनाइटेडले स्पोर्टिङ लिस्वनको सामना गरिरहेको थियो। त्यो खेलमा १८ वर्षका रोनाल्डोले आफ्नो खेलको जादूबाट म्यानचेष्टरका कोच सर एलेक्स फर्गुसनलाई यतिसम्म प्रभावित गरे कि फर्गुसन कुनै पनि हालतमा उनलाई आफ्नो क्लवमा भित्र्याउन लागि परे। उनले सोही वर्ष किर्तिमानी मूल्य १२.२५ मिलियन पाउण्डमा रोनाल्डोलाई अनुबन्ध पनि गरे। फर्गुसनले रोनाल्डोलाई अगाडि बढ्ने एउटा राम्रो मार्ग प्रदान गरिदिए भने म्यानचेष्टर युनाइटेडले क्रिस्टियानोभित्र भएको प्रतिभालाई सही ढंगबाट तिखार्दै लग्यो। ६ वर्ष म्यानचेष्टरमा बिताएर क्रिस्टियानो २००९ मा पुनः किर्तिमानी मूल्यमा स्पेनको रियल म्याड्रिडतर्फ लागे। म्यानचेष्टर युनाइटेडमा आफ्नो पहिचान बनाएका रोनाल्डोले म्याड्रिडमा झण्डै दश वर्ष बिताए र अनेकौँ किर्तिमानहरू आफ्नो नाम गरे।
लियोनल मेसीको बार्सिलोना आगमनको कथा त झनै रोचक छ। सन् १९९५–१९९६ ताका अर्जेन्टिनाको नेवेल्स ओल्ड व्याइज भन्ने क्लवबाट खेल्ने एउटा केटोको चर्चा युरोपका ठूला क्लवहरूमा समेत चल्न थालिसकेको थियो। चर्चा यस्तो कि बार्सिलोनाले त्यसको बारेमा बुझ्न आफ्नो स्काउटलाई नेवेल्सनै पठायो। बार्सिलोनाका स्काउट चाल्र्स रेचेक्सले एउटा अन्तर्वार्तामा बताएका थिए– ‘हामी जब त्यहाँ पुग्यौँ, हामीलाई त्यो खेलाडीको नाम मेसी बताइयो। मैले कुनै १८–२० वर्षको केटो होला भन्ने सोचेको थिएँ तर जब मैले पहिलोपटक मेसीलाई देखेँ, म अवाक् भएँ। मेरो अगाडि पाँच फुटभन्दा पनि कम उचाइको एउटा १२ वर्षको फुच्चे केटो उभिएको थियो।‘ तर जब त्यो १२ वर्षे केटोले आफ्नो खेलको जादू देखाए, ती स्काउटले तत्कालै उनलाई बार्सिलोना लैजाने प्रस्ताव मेसीको परिवारसमक्ष राखे। बार्सिलोनाको क्याम्प नोउ पुग्नेबित्तिकै त्यहाँको क्याफ्टेरियामा चाल्र्स रेचेक्सले हतार–हतार एउटा न्यापकिन पेपरमा मेसीसँगको सम्झौतापत्र तयार गरेर हस्ताक्षर गराएका थिए। ‘कसैले मेसीको बारेमा थाहा पाएर उसलाई लैजाने कोशिस गर्लान् भनेर हतारमा मैले त्यसो गरेको थिएँ‘ किन न्यापकिन पेपरमा सम्झौता गरियो भन्ने प्रश्नको उत्तर थियो यो।
बार्सिलोनाका डच लेजेन्ड फ्रान्क रायकार्डले मेसीलाई १६ वर्षको उमेरमा क्वलको ‘ए‘ टिमबाट डेब्यू गराए भने पेप ग्वार्डिओलाको कार्यकालमा मेसीको प्रतिभाले निखारिने मौका पायो। मेसीलाई आजको स्थानमा पुरर्याउन ग्वार्डिओलाको ठूलो भूमिका रहेको कुरा स्वयं मेसीले धेरै ठाउँमा बताएका छन्। बार्सिलोनामा शुरुका दिनहरूमा मेसीलाई ब्राजिलका रोनाल्डिन्होले एउटा अभिभावकका रूपमा ठूलो सहयोग गरे, फुटबलका धेरै सीप सिकाए। तर मेसीको खेलको उचाईलाई माथि पुर्याउन स्पेनका जाभी हर्नान्डेज र आन्द्रे इनिएस्टाले ठूलो भूमिका निर्वाह गरे। कुनै समयमा मैदानभित्र यी तीन खेलाडीको जुगलबन्दीलाई फुटबल इतिहासकै उत्कुष्ट मान्नेहरूको यहाँ कुनै कमी छैन। बार्सिलोनामा रहँदा मेसीले के–के जादू देखाए, के–कस्ता उपलब्धिहरू हासिल गरे भन्ने कुरा त सबैलाई थाहा भएकै विषय हो।
यी दुई खेलाडीहरूले हात पारेका उपलब्धिहरू समान भए पनि यिनीहरूको खेल्ने शैली भने बिल्कुलै भिन्न छ, ठ्याक्कै विपरीत भन्न सकिने। रोनाल्डो दाहिने खुट्टा बढी चलाउँछन् भने मेसी देब्रे खुट्टा। रोनाल्डो हेड गोल गर्नमा निकै माहिर छन् भने मेसीले टाउकोले त्यति धेरै गोल गरेका छैनन्। मैदानभित्र रोनाल्डो निकै आक्रामक देखिन्छन्, उनीमा गोल गर्ने र खेल जित्ने भोक प्रबल छ। त्यसको विपरीत मेसी प्रायः शान्त देखिन्छन्, मैदानभित्र र बाहिर पनि। रोनाल्डोको गति र स्कील गज्जबको छ भने मेसीलाई फुटबलको एउटा पूरा प्याकेज मानिन्छ। रोनाल्डो कडा मेहेनत र अनुशासनको प्रतिमूर्ति मानिन्छन् भने मेसी फुटबल खेल्नका लागि भगवानले दिएको वरदान। रोनाल्डोलाई ‘सेल्फमेड‘ भन्नेहरू मेसीलाई ‘नेचुरल ट्यालेन्ट‘ मान्दछन्।
एक्काइसौँ शताव्दीमा मेसी र रोनाल्डोभन्दा बढी चर्चामा रहेको, पढिएको, हेरिएको र खोजिएको विषय यो संसारमा सायदै अरू केही छ होला। पछिल्लो दुई दशकको अवधिमा फुटबलमा अनेक किसिमका किर्तिमानहरू बनाएका मेसी र रोनाल्डो संसारमा सबैभन्दा बढी कमाउने फुटबलर पनि हुन्। संसारका हरेक कुनामा यी दुईको समर्थकहरूको भीड लाग्ने गर्दछ। फेसबुक, ट्वीटर र इन्स्टाग्राममा पनि यी दुई खेलाडीको जति फलोअर कसैको छैन। इन्टरनेटमा सर्वाधिक खोजिने विषयमा पनि मेसी र रोनाल्डो नम्वर एकमा पर्दछन्। यी दुईको प्रतिद्वन्द्विताको त के कुरा गर्नु ! एक्काइसौँ शताव्दीमा सबैभन्दा धेरै बहस गरिएको विषय हो– ‘मेसी उत्कृष्ट कि रोनाल्डो?’ तर जति बहस र वादविवाद भए पनि यो प्रश्नको सही जवाफ आजसम्म कसैले दिन भने सकेको छैन। र, यो प्रतिद्वन्द्विताले यी दुई खेलाडीलाई अझै उत्कृष्ठ खेल्न र सफल बनाउन भने औषधीको काम गरिरह्यो। यसरी यी दुई खेलाडीले फुटबलको उचाइलाई चरम विन्दुमा पुर्याउन सफल भए।
भनिन्छ– हरेक शुरुवातको अन्त्य हुन्छ, जो माथि चढेदछ त्यसले तल पनि झर्नुपर्छ। यो प्रकृतिको नियम हो, यसबाट कोही पनि अछुतो रहन सक्दैन, मेसी र रोनाल्डो पनि। ३७ वर्ष पुगेका रोनाल्डो र ३४ वर्षका मेसी अहिले आफ्नो खेलजीवनको उत्तराद्र्धमा आइपुगेका छन्। उनीहरूको खेलमा अब त्यो जादू देख्न पाइँदैन जुन केही समय पहिलेसम्म थियो। २०२१ मा युभेन्टस्बाट आफ्नो पुरानो क्लव म्यानचेष्टर फर्किएपछि रोनाल्डो आफ्नो लय समात्न संघर्ष गरिरहेका छन्। अझ बार्सिलोनाबाट यही सिजन पेरिस सेन्ट जर्मन पुगेका मेसीको स्थिति त झनै खराव छ। दश–बाह्र सिजनभन्दा बढी लगातार ५० गोलको हाराहारीमा गोल गर्ने यी दुवै खेलाडी अहिले मैदानमा संघर्ष गरिरहेको देख्न सकिन्छ। उनीहरूको अहिलेको प्रदर्शनलाई हेरेर उनीहरूको आलोचना गर्नेहरू पनि बढ्दै गएको देख्न सकिन्छ सामाजिक सञ्जालहरूमा, त्यो भन्दा ठूलो खेदको विषय के हुन सक्ला !
पछिल्ला परिस्थितिहरूलाई विश्लेषण गर्दा अनुमान गर्न गाह्रो पर्दैन कि यी दुवै खेलाडी आफ्नो खेलजीवनको अन्त्यतिर आइपुगेका छन्। कतारमा यसै वर्ष आयोजना हुने विश्वकप फुटवल नै राष्ट्रिय टोलीका तर्फबाट यी दुवै खेलाडीको अन्तिम महत्वपूर्ण प्रतियोगिता हुनसक्छ। आफ्नो खेलजीवनमा मेसी र रोनाल्डोले जित्न बाँकी केही कुरा छ भने त्यो विश्वकप नै हो। यी दुईको जीवनलाई चलचित्र मान्ने हो भने त्यो चलचित्र ज्यादै उत्कृष्ट छ जसको क्लाइमेक्स आइपुग्नै लागेको छ। २०२२ मा मेसी वा रोनाल्डोले आफ्नो राष्ट्रका लागि विश्वकप फुटबलको उपाधि जितेर आफूले चाहे अनुसार नै त्यो चलचित्रको अन्त्य गर्ने मौका दुवैलाई छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया