साना दलको चुनाव चिन्हकाे मागबारे निर्वाचन आयोगले आज छलफल गर्दै

साना दलको चुनाव चिन्हकाे मागबारे निर्वाचन आयोगले आज छलफल गर्दै



काठमाडौं । दलीय चुनाव चिन्हमा निर्वाचन लड्न पाउनुपर्ने माग राख्दै आएका विभिन्न ३७ साना दलसँग निर्वाचन आयोगले आज छलफल गर्ने भएको छ । साना दलहरू दलीय चिन्हमा चुनाव लड्न अहिलेको ऐन अनुसार नमिल्ने आयोगले बताउँदै आएको छ ।

ऐनको अधिनमा रही अपनाउन सकिने उपायबारे आजको बैठकमा छलफल हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ग्लाेब नेपाललाई जानकारी दिए । आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानूनविद्सँग पनि छलफलको तयारी गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता प्राप्त दलले मात्रै दलीय चुनाव चिन्ह पाउने व्यवस्था छ । तर साना दलहरूले प्रचलित कानुनलाई देखाएर आफूहरूलाई चुनाव चिन्ह नदिन ठूला दलहरू नै लागेको आरोप लगाउँदै आएका छन् । आफ्नै चुनाव चिन्हको माग गर्दै स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समिति पनि उनीहरूले बनाएर गतिविधि बढाएका छन् ।