नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर ?

नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर ?



काठमाडौं । किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने छलफल गरेको छ । नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमाथि छलफल गरिएको थियो ।

कार्यक्रमका अधिकांश सहभागीले फिल्म तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए । ब्रिटिश काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविधि कार्यक्रममध्ये एक दिन वुमन अफ दिन वल्र्ड फेस्टिभलअन्तर्गत फिल्म डेको रुपमा मनाउने निर्णय गर्दै फिल्ममा महिलाको भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको पहिलो सेसनमा सात जना महिला फिल्मकर्मीले बनाएका छोटा फिल्म प्रर्दशन र छलफल चलाइएको थियो । ‘महिला र उनीहरूको कथा वाचन’ शीर्षकमा समेटिएको फिल्म स्क्रिनिङ तथा छलफलमा फिल्मकर्मी सपना बेलबासे, शिरिषा कुँवर र जियोन मगरसँग पुष्पा जोशीले छलफल चलाएकी थिइन् । १८ वर्षभन्दा माथि र तल गरी दुई श्रेणीमा विभाजन गरी देखाएका फिल्ममा दोस्रो चरणमा १८ वर्षभन्दा मुनिका महिलाले बनाएका फिल्म देखाएर छलफल गरिएको थियो ।

दोस्रो सत्रमा भने नेपाली फिल्ममा महिलाको चरित्र चित्रणसम्बन्धी समस्यालाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा पिंकी शिरिष रानाले नारीवादको आँखाबाट नेपाली सिनेमा र मिडियामा महिलाको अवस्था प्रस्तुत गरेकी थिइन् भने अभिमन्यु दीक्षितले विगतदेखि वर्तमानसम्ममा नेपाली सिनेमामा महिलाको प्रतिनिधित्वको चर्चा गरेका थिए । सो सत्रमा केही नेपाली सिनेमाका प्रतिनिधि दृश्यहरू देखाउँदै तिनले समग्र नेपाली सिनेमाको अवस्था बयान गर्ने आसय व्यक्त गरिएको थियो । यो सत्रको संयोजन गौंथली इन्टरटेनमेन्टले गरेको थियो ।

कार्यक्रमको तेस्रो भागमा भने नेपाली सिनेमामा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो । अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा फिल्ममार्फत नारी सशक्तिकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो । छलफलमा सहभागी अधिकांशले आफूहरूले संस्थागत रुपमा अडियो भिज्युवल प्रडक्सनमा महिलाको सहभागिता बढाउन विभिन्न कार्यक्रम गरिरहेको दावी गरेका थिए । अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म यो क्षेत्रमा सोचे झैँ महिलाको प्रतिनिधित्व गराउन नसकिने बताएका थिए ।