एमसीसीको भ्रम चिर्दै कांग्रेस

एमसीसीको भ्रम चिर्दै कांग्रेस



काठमाडौं । स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो । हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन् ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको तादी गाउँपालिका पुगेर एमसीसी राष्ट्रहितमा रहेको दावी गरे । जुन कुरा जनताले भोलि देख्ने उनको भनाइ छ । सोही दिन महामन्त्री गगनकुमार थापाले पनि एमसीसी पारित गराउन पार्टीले गरेको अगुवाइको प्रतिरक्षा गरे ।

उनले एमाले र माओवादी कार्यकर्ताले एमसीसी कांग्रेसले पास गरेको भनिए पार्टीका अध्यक्षहरूलाई प्रश्न गर्न लगाउनुपर्ने बताए । प्रधानमन्त्री देउवा र महामन्त्री थापा मात्र होइन, पार्टीका अन्य पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, सांसद र केन्द्रीय सदस्यहरूले पनि एमसीसीबारे प्रष्टीकरण दिने गरेका छन् ।

सहमहामन्त्री भीष्मराज आङ्देम्बे कम्युनिस्ट पार्टीहरूले एमसीसीबारे जनतालाई पूरै भ्रमित बनाएको बताए । त्यही भ्रमलाई कांग्रेस नेताहरूले निर्वाचनको मुखमा चिर्नुपरेको स्पष्ट पारे ।

‘विभिन्न कालखण्डमा कम्युनिस्टहरूले पनि एमसीसीलाई बोकेर ल्याएका हुन् तर माछा देख्दा दुलोभित्र हात हाल्ने र सर्प देख्दा बाहिर निकाल्ने वा सत्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने कम्युनिस्टहरूको चरित्र देखियो । यस्तो चरित्र पनि उदाङ्गो पार्ने काम हुँदै छ’, आङ्देम्बे बताउँछन् ।

कांग्रेसले एमसीसीलाई देश विकासको आधार मानेको छ । सरकारको प्राथमिकतामा परेको आयोजना भन्ने गरेको छ । महामन्त्री थापा त अनुदान सहयोग अमेरिकाले मात्रै नभइ अन्य देशले दिए पनि सहर्ष स्वीकारेर लिनुपर्ने पक्षमा छन् ।

र, एमसीसीबारे कांग्रेसले बुकलेट नै तयार गरेको छ । जुन स्थानीय तहसम्मै पठाइसकेको छ । बुकलेटले भ्रम चिर्न सहयोग पुग्ने विश्वास कांग्रेसको छ । भ्रम चिर्न नसके स्थानीय निर्वाचनमा असर पर्न सक्ने बुझाइको आधारमा बुकलेट तयार गरेको कांग्रेसले जनाएको छ ।

तर, १५ माघमा ब्याख्यात्मक घोषणामार्फत एमसीसीको पक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि उभिएका थिए ।