एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित

एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित



काठमाडौं । स्थानीय निर्वाचनका बारेमा केन्द्रित रहेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा हिजाे बसेको एमाले सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ । त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने तथा निर्णय प्रदेश कमिटीले गर्ने गरी मापदण्ड तय गरेको गुरुङले जानकारी दिए ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने तथा टिकटको निर्णय पार्टी केन्द्रले गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देश गर्ने भएको छ । आगामी चुनावी रणनीति बनाउन एमालेले यही चैत ७ गते पोलिटब्यूरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिए । बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माण गर्नेसमेत निर्णय गरेको छ ।