शिक्षक पत्रकार समूहद्वारा शिक्षकलाई सम्मान, पत्रकार पुरस्कृत

शिक्षक पत्रकार समूहद्वारा शिक्षकलाई सम्मान, पत्रकार पुरस्कृत



काठमाडौं । शिक्षा पत्रकार समूहले आफ्नो २२ औं स्थापना दिवस तथा ११ अधिवेशनका अवसरमा शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । समूहले जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देल र जनकल्याण मावि काठमाडौंकी प्रधानाध्यापक कुमारी कमला राईलाई सम्मान गरेको हो । यस्तै कान्तिपुर दैनिकका सुदिप कैनीलाई तीर्थ भुसाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

समूहले हरेक दुईवर्षमा दुईजना उत्कृष्ट काम गर्ने प्रधानाध्यापकलाई सम्मान तथा एकजना शिक्षामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।

पुरस्कार र सम्मानका लागि छनोट र सिफारिस गर्न समूहका पूर्व अध्यक्ष रोश्ना सुब्बा, शिक्षाविद् विद्यानाथ कोइराला र पत्रकार नारायण अमृत रहेको सिफारिस समिति गठन गरिएको थियो । समूहका तत्कालिन कार्यसमिति सदस्य भुषालको नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।