काठमाडौं । अध्ययन बिदा लिएर प्राध्यापकहरु विश्वविद्यालय नफर्कने प्रवृत्तिप्रति सरकार कठोर बन्ने भएको छ । बिहीबार त्रिवि सभा बैठकलाई सम्बोधन गर्दै उपकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकप्रति कठोर नीति लिइने बताए ।
उनले त्यस्ता प्राध्यापकहरुको अभिलेख तयार गरी कारबाहीको प्रक्रिया अघि बढाइएको समेत जानकारी दिए । अध्ययन बिदामा बसेका प्राध्यापकले सो अवधिभर अध्ययन खर्च बापत भत्ता पाउँछन् । मन्त्री पोखेलले त्यसरी लिइएको भत्ता जरिवानासहित असुल उपर गरिने चेतावनी दिए । त्रिवि पदाधिकारीलाई उनले सूचना जारी गरेर प्राध्यापकहरुलाई सम्पर्कमा बोलाउन भने ।
एक महिनाभित्र सम्पर्कमा आएकालाई जरिवाना तिराउन निर्देशन दिए । त्यसरी सूचना जारी गर्दा पनि अटेरी गर्नेलाई भने प्रहरी कारबाही गर्ने बताए । अटेर गर्नेमाथि कारबाहीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा लेखेर पठाउन पोखरेलले निर्देशन दिए ।
‘अध्ययन बिदाको दुरूपयोग गरेर विश्वविद्यालय फर्किनु नभएका प्राध्यापकहरू अथवा सम्पर्कमा आउनुभएका प्राध्यापकहरुलाई जरिवाना तिराउने’, मन्त्री पोखेलले त्रिवि पदाधिकारीलाई निर्देशन दिँदै भने, ‘जसले प्रक्रियामा सहयोग गर्नुभएको छैन, उहाँहरूलाई थप कारबाहीको लागि सिआइबी तथा सम्बन्धी निकायमा लेखी पठाउने ।’
पोखरलेलले त्रिविको अतिक्रमित जग्गा फिर्ताको कामलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिए ।


प्रतिक्रिया