कस्तो छ निर्वाचन सुरक्षा योजना ?

कस्तो छ निर्वाचन सुरक्षा योजना ?


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सुरक्षा निकायहरूले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना तयार गरेका छन् । वैशाख ३० लाई लक्षित गरेर सुरक्षा निकायहरूले सुरक्षा योजना अघि सारेका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा निकायले निर्वाचन लक्षित सुरक्षा योजना बनाएका हुन् । गृह मन्त्रालयले समेत एकीकृत निर्वाचन सुरक्षा योजना बनाएको छ । त्यस्तै हरेक सुरक्षा निकायहरूले पनि छुट्टा छुट्टै निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छन् ।

नेपाल प्रहरीले ७० हजार जनशक्तिलाई निर्वाचन लक्षित कार्यक्रममा खटाइने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए । गृह मन्त्रालयको माथिल्लो तहको सुरक्षा योजना बनेको छ । जसमा सबै सुरक्षा निकायका अधिकारीको सहभागिता छ ।

नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । जसको कमाण्डर एआईजी सहकुल बहादुर थापा छन् । उक्त सेलले देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिने, सुपरिवेक्षण गर्ने, अनुगमन गर्ने, प्रहरीको व्यवस्थापन गर्ने र आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्ने एसएसपी केसीले बताए ।

प्रहरीले प्रत्येक प्रदेश र जिल्लामा पनि निर्वाचन सेल गठन गरेको छ । ती निर्वाचन सेलहरूले आफ्नो जिल्ला तथा आफ्नो प्रदेशमा चाहिने जनशक्ति, त्यसलाई चाहिने साधन स्रोतको व्यवस्थापन गर्नुका साथै आवश्यक समन्वयको काम गर्नेछ ।

जिल्लामा सुरक्षा समिति समेत हुनेछ । जुन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुनेछ । त्यसले जिल्लाभर कति सुरक्षाकर्मी खटाउने ? कुन–कुन मतदान केन्द्रमा कस्तो खालको सुरक्षा रणनीति अपनाउने ? लगायतका विषयलाई ध्यानमा राखेर काम गर्नेछ ।

त्यस्तै एक लाख म्यादी प्रहरी पनि खटिनेछन् । उनीहरूलाई आवश्यक तालिम दिएर २८ चैतदेखि निर्वाचनमा खटाइनेछ । उनीहरूको कार्यकाल ४० दिनको हुने प्रवक्ता केसीले बताए । नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीलाई तम्तयार हालतमा राखिएको र आवश्यकता अनुसार सुरक्षा दिएर चुनाव सम्पन्न गरिने उनको भनाई छ ।

सशस्त्र प्रहरी बल नेपालले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेको छ । प्रधान कार्यालयले तल्लो इकाईसम्म निर्वाचनका लागि तयारी अवस्थामा रहन भन्दै पत्राचार गरिसकेको सशस्त्र प्रहरी बल प्रवक्ता कमलप्रसाद तिमसिनाले जानकारी दिए ।

सशस्त्रध प्रहरी बलले विभिन्न तहहरू, प्रधान कार्यालय, बाहिनी, गण तथा गुल्ममा निर्वाचन सुरक्षा सेल गठन गरिसकेको छ । त्यस्तै मतदानस्थल, मतदान केन्द्र लक्षित गरेर गस्ती पेट्रोलिङ लगायतका काम पनि भइरहेको उनको भनाइ छ ।

मतदान स्थलमा शान्ति सुरक्षाको प्रत्याभूत गराउने, त्यहाँको भूगोल, जनसंख्या, मनोविज्ञान बुझ्ने, निर्वाचन सुरक्षालाई असर पुर्‍याउन सक्ने खालको कुनै सूचनाहरू छन् भने संकलन गर्ने, निर्वाचनमा परिचालन हुँदा आइपर्ने सुरक्षा चुनौती विश्लेषण गर्ने र माथिल्लो निकायमा फिडब्याक दिने काम पनि अहिले भइरहेको प्रवक्ता भिउसिनाले बताए ।

सशस्त्र प्रहरी बलका सम्पूर्ण जनशक्तिलाई निर्वाचन सुरक्षाबारे जानकारी दिने उद्देश्यले १५ दिन अनुशिक्षण तालिम समेत प्रदान भइरहेको छ । निर्वाचन सम्बन्धी कानुनहरू, सशस्त्र प्रहरी बलको काम, कर्तव्य र अधिकार, निर्वाचनमा परिचालन हुँदाको दायित्व, भूमिकाबारे जानकारी दिन सबै प्रहरी कर्मचारीलाई निर्वाचन शिक्षा अनुशिक्षण तालिम दिइरहेको उनको भनाइ छ । त्यसका लागि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै तयार पारेको छ ।

प्रत्येक प्रदेशमा रहेका बाहिनीले समेत आ–आफ्नो क्षेत्रको भर्चुअल एक्सरसाइज गरिरहेको उनको भनाइ छ । ‘भोलिको दिनमा कसरी परिचालित हुने त भनेर भर्चुअल एक्सरसाइज गरिरहेका छौं । संगठनको तर्फबाट सुरक्षा योजना तयार भएको छ ।’ उनले भने ।

निर्वाचनका लागि आवश्यक पर्ने बजेट माग गरिएको र केही दिनमा त्यसको निर्णय हुने उनको भनाइ छ । सरकारबाट आवश्यक बजेट प्राप्त भएपछि मात्रै बन्दोबस्तिको सामान खरिद गर्ने काम हुने प्रवक्ता भिउसिनाले बताए ।

नेपाली सेनाले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेको छ । निर्वाचनलाई लक्षित गरेर निर्वाचन सेल सक्रिय भइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले जानकारी दिए ।

गृह मन्त्रालयमा रहेको केन्द्रीय निर्वाचन सेलमा समेत नेपाली सेनाको प्रतिनिधि छन् । त्यसबाट अरू सुरक्षा निकाय र निर्वाचन आयोग तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वयको काम हुने उनको भनाइ छ ।

‘आन्तरिक तयारी, प्लानिङ, तालिम लगायतका सबै काम गरिरहेका छौं । बन्दोबस्तिका सामान जुटाउनको लागि सरकारसँग आवश्यक पर्ने बजेट माग गरेका छौं,’ उनले भने, ‘त्यस्तै चार अर्बको हाराहारीमा हामीले बजेट माग गरेका छौं । हेरौं कति बजेट पाइन्छ ।’

निर्वाचन सुरक्षाको सम्वेदनशिलतालाई मध्यनजर गर्दै नेपाली सेनाको टोलीहरू तयारी अवस्थामा राखिने उनको भनाइ छ । गस्ती गर्ने, सरकारले खटाएको क्षेत्रमा परिचालन हुने जस्ता कार्यका लागि पनि सेना तयार रहेको उनले बताए ।

यी सबै सुरक्षा निकायका लागि गृह मन्त्रालयले समन्वय गर्नेछ । गृह मन्त्रालय अन्तर्गत निर्वाचन सुरक्षा संयन्त्र तयार भएको छ । जसमा सबै सुरक्षा निकायका प्रतिनिधि, सरोकारवाला निकायको सहभागिता छ ।

सबैसँग समन्वय र सहकार्यमा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गर्ने गरी सुरक्षा निकायलाई परिचालन गरिने गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए । विगतका निर्वाचनमा हुने गरेको अवाञ्छित, तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै त्यसका लागि हरेक सुरक्षा निकाय तयारी अवस्थामा रहने बताए ।