बिजुलीको तारबाट अमेरिकी सेना आउँदैन : गृहमन्त्री खाँड

बिजुलीको तारबाट अमेरिकी सेना आउँदैन : गृहमन्त्री खाँड


ग्लोब नेपाल
513
Shares

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् ।

मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताउँदै नेपालमा कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए ।

उनले नेपालमा ऊर्जाको भविष्यको चर्चा गर्दै ठूला र साना गरी ६ हजार नदी भए पनि जलविद्युत पुरा उत्पादन गर्न नसकेको बताए । ‘वर्षा याममा विद्युत् उत्पादन धेरै भएर खेर जान्छ । हिउँदमा नपुगेर भारतबाट ल्याउनु पर्छ । नेपालमा उत्पादन भएको विद्युत् बाहिर विक्री गर्न सकिएमा मात्र व्यापार घाटा कम हुन्छ,’ खाँडले भने ।

सम्बोधनका क्रममा उनले सरकारले विद्युतको खपत बढाउनको लागि मूल्य घटाउन तयार रहेको बताए । नागरिकले पेट्रोलियम पदार्थको उपभोग घटाउनको लागि विद्युत् उत्पादन र प्रयोग गर्नुको विकल्प नरहेको समेत बताए ।

महोत्सवमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्वदेशमा उत्पादन भएका सामाग्रीले महोत्सवमा स्थान पाउने हुँदा स्थानीय उत्पादनको खपत बढ्ने दाबी गरे । यसै गरी एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले महोत्सव सञ्चालन गर्दा कपिलवस्तुको उद्योग तथा पर्यटनको विकासमा टेवा पुग्ने गरी योजना बनाउन सुझाव दिएका थिए । जिल्लाको बाणगंगा नगरपालिका जितपुरमा चल्ने चैत्र १३ गते सम्म सञ्चालन हुने छ ।