पल प्रकरण : पीडितको पक्षबाट नौ जनाले गरे बहस

पल प्रकरण : पीडितको पक्षबाट नौ जनाले गरे बहस


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा पल शाहविरुद्ध परेको मुद्दामा जाहेरवालाको पक्षबाट नौ जनाले बहस गरेका छन् । बुधबारदेखि तनहुँ जिल्ला अदालतमा न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा जोहरवालाको पक्षमा दुई सरकारी वकिलसहित नौ जनाले बहस गरेका हुन् ।

जिल्ला अदालत तनहुँले बुधबार नै प्रतिवादीको बयान सकाएर बहस सुरु गरेको हो । अदालतमा मंगलबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि मंगलबार नै पलसँग बयान लिइएको छ । घटनामा मतियारको रुपमा पेस भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताए । ‘जाहेरवाला पक्षका नौ जनाको बहस सकियो । प्रतिवादीको तर्फबाट तीन जनाले बहस गरेका छन्’, तिम्लिसिनाले भने ।

जाहेरवालाका तर्फबाट जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा, विपिनराज तिवारी, राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, शिवराज काफ्ले लगायतले बहस गरे ।

उनका अनुसार प्रतिवादीका तर्फबाट ११ जनाले बहस गर्नलाई वकालतनामा दर्ता गराएका छन् । प्रतिवादीतर्फबाट अधिवक्ता पर्शुराम गिरी, भानुभक्त सुवेदी, कमलामोहन वाग्लेले बुधबार बहस गरे । वाग्लेको बहस बिहीबार पनि निरन्तर हुनेछ । प्रतिवादीतर्फबाट तनहुँकै कानुन व्यवसायी यदु खनाल, यज्ञ राना लगायतले विहीबार बहस गर्दैछन् ।

वाँकी बहस बिहीबार सुरुमै हुनेछ । बहस सकिएर बिहीबार थुनछेक आदेश आउन सक्ने तिम्लिसिनाले बताए । ‘बिहीबार नै बहस सकिएर आदेश आउन पनि सक्छ । नआउन पनि सक्छ । शुक्रबारसम्म पक्कै एउटा आदेश आउने सम्भावना छ’, उनले भने । वकालतनामा दर्ता गराएर जाहेरवाला र प्रतिवादको पक्षमा बहस गर्नेको संख्या बढ्न सक्ने भएकाले बहसको समय लम्बिन सक्ने तिम्लिसिनाले बताए । उनका अनुसार बुधबार विहानसम्म दुवै पक्षका ६/६ जनाले वकालतनामा दर्ता गराएकोमा त्यो संख्या बढ्यो ।

बहस सकिएपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ । थुनछेक आदेशमा प्रतिववादीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरैबाट मुद्दा लड्न पाउने भन्ने तय हुनेछ ।

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले पलविरुद्ध मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिव क्षतिपूर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ ।

पलले बालिकालाई जबरजस्ती करणी गरेको उजुरी तनहुँ ११ फागुनमा परेको थियो । त्यसको चार दिन पछि पल तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गर्न पुगेका थिए ।

नवलपुर जिल्ला अदालतमा पनि गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्रदायर भएको हो ।