पल शाहलाई जेल चलान गर्न अदालतको आदेश, म्यानेजर धरौटीमा रिहा

पल शाहलाई जेल चलान गर्न अदालतको आदेश, म्यानेजर धरौटीमा रिहा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई जेल चलान गर्न आदेश दिएको हो ।

एक नाबालिका गायिकालाई विवाह गर्ने प्रलोभनमा पारेर पटक–पटक शारीरिक सम्बन्ध राखेको भन्दै पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ ।

जिल्ला अदालतको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो। पीडित नाबालिगका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बुधबार बहस गरेका थिए।

यता पलका पक्षबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ बर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।