धनुषा । धनुषाको सबैलामा गएराति भएको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सबैला नगरपालिका-१२ बरकुर्वामा ज६प ६७३९ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याए पनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
प्रतिक्रिया