सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार

सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार


ग्लोब नेपाल
162
Shares

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुरले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार बेहोरेको छ । सिटीले बर्नलीलाई २-० अन्तरले हरायो । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । २५औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले नै हरायो । लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले समान एक-एक गोल गरे । २२औँ मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिए । ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

अर्को खेलमा भने चेल्सी अप्रत्याशित नतिजा पायो । उसलाई घरेलु मैदानमै ब्रेन्टफोर्डले ४-१ अन्तरले हरायो । ४८औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए ।

खेलको ५४औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६०औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्याे । ३० खेल खेलेको सिटी ७३ अंक सहित शीर्ष स्थानमा छ । ७२ अंकको लिभरपुल दोस्रो स्थानमा रहदा ५९ अंकको चेल्सी तेस्रो स्थानमा छ ।

बेन्जेमा चम्किदा रियल मड्रिडको जित
अनुभवी फरवार्ड करिम बेन्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २-१ अन्तरले पराजित गरेको छ । शनिबार भिगोको घरेलु मैदानमा दुबै गोल बेन्जेमाले गरे । भिगोको लागि नोलिटोले एक गोल फर्काए ।

१९औं मिनेटमा बेन्जेमाको पेनाल्टीमा अग्रता बनाए । ५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुके । तर पुनः ७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे ।

जितसँगै रियलले ३० खेलबाट ६९ अंक सहित शीर्ष स्थानमा बलियो पकड जमाएको छ । सेल्टा भने ३६ अंक जोडेर ११औं स्थानमा छ । गय राति नै भएको खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेसलाई ४-१ अन्तरले पराजित गर्यो । लुइस स्वारेज र जुवाओ फेलिक्सले समान दुई गोल गरे । जितपछी समान ५७ अंक भएपनी एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।