न्यूयोर्कमा दुई दिने मिथिला महोत्सव हुँदै, आठ कलाकारको सिर्जना प्रदर्शन गरिने

न्यूयोर्कमा दुई दिने मिथिला महोत्सव हुँदै, आठ कलाकारको सिर्जना प्रदर्शन गरिने


ग्लोब नेपाल
405
Shares

न्यूयोर्क । यहाँ यही अप्रिल १४ देखि १६ तारिखसम्म दुई दिने मिथिला महोत्सव हुने भएको छ। ‘दिगो विकास लक्ष्यको लागि कला: मिथिला सम्पदा’ मूल नारासहित मिथिला महोत्सव हुन लागेको आयोजकहरुले जानकारी दिएका छन्। महोत्सवमा विभिन्न आठ जना कलाकारहरुको कलाकृतिको प्रदर्शनी गरिने भएको छ। छनौट गरिएका कलाकारहरुमा इंद्रकला निधि, ज्यकाली मूखिया, प्रतीक रायमाझी, राजकुमारी मण्डल, रेवती मण्डल, रेमानी मण्डल, शाची श्रीवास्तव र स्नेहा मिश्रा रहेका छन् ।

प्रदर्शनीका लागि नेपाल, भारत र अमेरिकामा रहेका कलाकारको कलाकृति छनौट गरिएको मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्षसमेत रहेका महोत्सवका आयोजक अमित शाहले जानकारी दिए ।

मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका गर्न लागिएको हो । मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरुप कार्यक्रम आयोजना गरिने आयोजकको भनाई छ ।

प्रथम मिथिला महोत्सव ३ बर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्न भएको थियो । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजना गर्दा अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमा मनाउनेमात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ । साथै मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि यसवर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथाले यस संस्कृतिमा विशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता (जानकीको नामले पनि चिनिने) को विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।