श्रीलंका दशककै खराब आर्थिक संकटमा

श्रीलंका दशककै खराब आर्थिक संकटमा

मन्त्रिपरिषद्‍मा सामेल सबै मन्त्रीहरुद्वारा राजिनामा


ग्लोब नेपाल
270
Shares

श्रीलंकाको मन्त्रिपरिषद्‍मा सामेल सबै मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । दशककै खराब आर्थिक संकटलाई व्यवस्थापन गर्न नसकेको जनआक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्मा सामेल सबै २६ जना मन्त्रीहरुले प्रधानमन्त्री समक्ष सामूहिक राजिनामा दिएका हुन् ।

राजिनामा दिने मन्त्रीमा प्रधानमन्त्री महिन्दा राजापाक्षका आफ्नै छोरा समेत रहनु भएको बताइएको छ । श्रीलंकामा प्रधानमन्त्रीकै भाइ गोटावाया राजापाक्ष राष्ट्रपति हुनुहुन्छ ।

श्रीलंकामा अहिले इन्धन, विद्युत र विदेशी मुद्राको ठूलो अभाव रहेको छ । मुलुकको आर्थिक अवस्था जर्जर बनेको र सर्वसाधारणको दैनिकी नै कष्टपूर्ण भएपछि सर्वसाधारण आन्दोलित भएका हुन् ।

राष्ट्रपति निवास अघि गरिएको व्यापक प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेकपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । श्रीलंकामा अहिले देशव्यापी संकटकालको घोषणा गरिएको छ ।

गत शुक्रबार राष्ट्रपति गोटावाया राजापाक्षले ३६ घन्टे कर्फ्यु आदेश जारी गर्नभएको थियो । तर प्रदर्शनकारीहरू विभिन्न शहरहरूमा कर्फ्युको अवज्ञा गर्दै सडकमा निस्किएका छन् ।

श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ । विदेशी मुद्राको अभावमा इन्धन आयात गर्न सकिएको छैन ।

दैनिक १३ घन्टाभन्दा बढी लोडसेडिङ भइरहेको छ । खाद्यान्न, औषधि र इन्धनको अभाव भएपछि जनआक्रोश चुलिएको हो । प्रशासनको अनुमति बिना श्रीलंकामा अहिले सडक, पार्क र समुद्रको किनारमा निस्कन समेत प्रतिबन्ध लगाइएको छ ।