क्रिस्टल प्यालेससँग आर्सनलको नमीठो पराजय

क्रिस्टल प्यालेससँग आर्सनलको नमीठो पराजय


ग्लोब नेपाल
216
Shares

लन्डन । क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको नमीठो हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे ।

जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत छ । उसको समान ५४ अंक रहे पनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ ।

मिलानले अग्रता बढाउने अवसर गुमायाे
बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । अन्तर्राष्ट्रिय विश्राम अघि लगातार तीन खेलमा १-० को जित हात पार्दै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको मिलानले सोमबार भने जित यात्रनालाई निरन्तरता दिन सकेन ।

लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोली र तेस्रो स्थानको इन्टर मिलान शीर्ष स्थानको एसी मिलानभन्दा मात्र एक अंकले पछि छन् ।मिलानसँगको अंक दुरी कम गर्ने क्रममा आइतबार नेपोलीले एट्लान्टालाई ३-१ ले पराजित गरेको थियो भने इन्टरले युभेन्टसलाई १-० ले हराएको थियो ।

१६औं मिनेटमा राफेल लियोले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा मिलान निराश बनेको थियो । मिलानको ३१ खेलबाट ६७ अंक रहेको छ भने दोस्रो र तेस्रो स्थानको नेपोलीको समान ६७ अंक छ ।