चाईनिज रेल्वे ईन्जिनियरिङ्गका मजदुर आन्दोलन जारी

चाईनिज रेल्वे ईन्जिनियरिङ्गका मजदुर आन्दोलन जारी


ग्लोब नेपाल
567
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कंचनपुर–कमला चार लेन सडक योजनामा कार्यरत मजदुर आन्दोलित भएका छन् । उक्त निर्माणको जिम्मा चाइनिज रेल्वे इन्जिनियरिङले लिएको हाे । मजुदर आन्दोलनले निर्माण कार्य ठप्प छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिक मापदण्ड र कम्पनीले विदा दिएर हाजिरी काटेको विरोधमा मजदूर आन्दोलनमा उत्रिएका हुन् ।

मजदूरलाई आफुखुशी काममा आउन रोक लगाउने तथा विदाको दिनको हाजिरसमेत कटौती गर्न थालेपछि आन्दोलनमा उत्रिनु परेको मजदूर बताउँछन् । मजदूरहरुको आन्दोलनका कारण गत सोमबारदेखि निर्माण कार्य ठप्प छ । कम्पनीमा रहेको सयौं सवारी साधानहरु थन्किएको छ ।

कम्पनीले निर्माण सामाग्री अभाव देखाउँदै काममा नआउनु भन्छ, एक मजदूरले भने, कम्पनीले आफुखुशी विदा दिएर हाजिरी काट्ने गर्छन् । काम गर्न ईच्छुक हुँदाहुँदै बन्चित गरी रोजगारीविहीन बनाउने गरेकाले पेशागत सुरक्षाको माग राखी आन्दोलन गर्नुपरेको मजदूरहरुको भनाई छ ।

नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक मापदण्डसमेत कार्यान्वयन नभएको मजदुरको गुनासो छ । उनीहरुले ईन्जिनियरलाई मासिक ५० देखि ५५ हजार तलव दिनुपर्ने, सुपरभाइजरहरुले दैनिक १३ देखि १५ सयसम्म हाजिर पाउनुपर्ने, फुल मिस्त्रीहरुलाई दैनिक ११ सय ५० देखि १२ सय ५० रुपैया हाजिरी दिनुपर्ने, मिस्त्रीहरुका लागि ८ सय ५० देखि ९ सय ५० सम्म हाजिरा दिनुपर्ने, मजदूरको हकमा ७ सयदेखि ८ सय ५० सम्म दैनिक हाजिर दिनुपर्ने, सवारी चालकहरुलाई मासिक ४५ देखि ५० हजार दिनुपर्ने, डोजर, रोलरसहितका अपरेटरहरुलाई ४० देखि ४५ हजार मासिक तलव दिनुपर्ने, बिद्युतीय मिस्त्रीहरुलाई ११ देखि १२ सय ५० सम्म हाजिरा उपलब्ध गराउन माग अघि सारेको छ ।

माग सम्बोधन नभएसम्म अनिश्चितकालिन सडक निर्माणको कार्य ठप्प पार्ने निर्णय भएको आन्दोलनरत मजदूर बताउँछन् । शान्तिपूर्ण रुपले माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।