प्रधानमन्त्री कार्यालयको चासोमा सञ्चारकर्मीलाई बोलायौँ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौँ : प्रहरी

प्रधानमन्त्री कार्यालयको चासोमा सञ्चारकर्मीलाई बोलायौँ, प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौँ : प्रहरी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोका आधारमा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको स्पष्ट पारेको छ। सञ्चारकर्मीलाई कार्यालयमा बोलाइएको विषयमा सार्वजनिक प्रश्न उठिरहेका बेला प्रहरीले उक्त कदमलाई आफ्नो नियमित कार्यसम्पादनअन्तर्गत सही मनसायले गरिएको कार्यका रूपमा व्याख्या गरेको हो।

प्रहरीले जारी गरेको वक्तव्यमा पछिल्ला दिनमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निरन्तर प्रचार भइरहेको दाबी गरिएको छ। त्यस्ता सामग्रीले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धानसम्बन्धी विषयमा जनमानसमा नकारात्मक धारणा सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ।

यही विषयमा प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोका आधारमा सम्बन्धित सामग्रीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिन केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको प्रहरीको स्पष्टीकरण छ।

प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्य आफ्नो कार्यसम्पादनअन्तर्गत सही मनसायले गरिएको उल्लेख गर्दै त्यसलाई सुरक्षित समाज निर्माणमा सहयोग पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरेको छ।

वक्तव्यमा प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति प्रहरी सदैव प्रतिबद्ध रहेको समेत उल्लेख छ।

‘राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ प्रहरीको वक्तव्यमा भनिएको छ।

प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोलाई सञ्चारकर्मी बोलाउनुको आधारका रूपमा उल्लेख गरे पनि उक्त चासो कुन प्रक्रियाबाट व्यक्त भएको थियो भन्नेबारे थप विवरण दिएको छैन। त्यस्तै, कुन सामग्रीका सम्बन्धमा जानकारी लिन खोजिएको हो र त्यसको कानुनी आधार के हो भन्ने पनि वक्तव्यमा खुलाइएको छैन।

प्रहरीले प्रेसप्रति सकारात्मक दृष्टिकोण राख्ने प्रतिबद्धता दोहोर्‍याउँदै सुरक्षित समाज निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ।