सुदूरपश्चिममा चार वर्षपछि कांग्रेस सरकारमा सहभागी, दुई मन्त्री र एक राज्य थपिए

सुदूरपश्चिममा चार वर्षपछि कांग्रेस सरकारमा सहभागी, दुई मन्त्री र एक राज्य थपिए


ग्लोब नेपाल
162
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस चार वर्षपछि सरकारमा सहभागी भएको छ । कांग्रेसका एक राज्यमन्त्रीसहित तीन जना सहभागी भएका छन् । कांग्रेस संसदीय दलका नेता रहेका रणबहादुर रावल, गोविन्द बोहरा मन्त्री भएका छन् भने टेकबहादुर रैका राज्यमन्त्री नियुक्त भएका छन् ।

रावल आन्तरिक मामिला तथा कानुन, बोहरा सामाजिक विकास र रैका सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन् । कांग्रेसले पाएका सबै मन्त्रालयमा यस अघि एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य मन्त्री रहेका थिए ।

सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको हो । छोटो समयमै सरकारबाट बाहिरिनु परेकोमा नेकपा (एकीकृत समाजवादी)का सांसदहरुमा भने पार्टी नेतृत्वप्रति असन्तुष्टि देखिएको छ । गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे छलफल भएको थियो ।

कांग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुई मन्त्री फिर्ता बोलाएको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चार मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् । यस्तै एकीकृत समाजवादीले अन्य मन्त्रीहरु पनि हेरफेर गरेको छ । संसदीय दलका नेता दीर्घ सोडारीबाहेक सबैलाई फेरबदल भएका छन् ।

सो पार्टीले आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङलाई फिर्ता बोलाएर प्रकाश रावललाई पठाएको छ । यस्तै आर्थिक मामिला राज्यमन्त्री माया तामाङको ठाउँमा अमर साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा रहेकी चुनकुमारी चौधरीको ठाउँमा कुलवीर चौधरीलाई पठाइएको छ ।

निर्वाचन आचारसंहिता सुरु हुने भएकाले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शुक्रबार राति प्रदेश प्रमुखले शपथ ग्रहण गराएका छन् । अब सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री गरी चार जना माओवादी केन्द्रका, दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना एकीकृत समाजवादी तथा दुई मन्त्री र एक राजमन्त्री गरी तीन जना कांग्रेसबाट प्रतिनिधित्व भएको छ ।

कांग्रेसले सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीको सहभागीता नभए सुदूरपश्चिममा चुनावी तालमेल नगर्ने चेतावनी दिएको थियो । कांग्रेस सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर बलायरले चुनावी तालमेलका लागि सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सहभागिता अनिवार्य शर्त भएको बताएका थिए ।