‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’

‘महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएका छन्’


ग्लोब नेपाल
270
Shares

काठमाडौं । राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन् । नारी म्यागजिनले आज साेमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताएका थिए । प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व हेर्न चाहेको बताएकी थिइन ।

उनले भनिन, “राष्ट्रपति, सभामुखलगायतका विभिन्न क्षेत्रमा महिला पुग्नुभएको छ, अरु क्षेत्रमा पनि महिला पुग्न आवश्यक छ ।” महिलाले राजनीतिमा गएपछि आफूले चाहेको परिवर्तन सम्भव हुने संविधानसभा सदस्य देउवाले बताइन् । राजनीतिमा प्रत्यक्षरुपमा संलग्न हुँदा नै राज्यको कार्यक्रम र नीति बनाउन सकिने उनले बताइन । राजनीतिमा लाग्दा कतिपय कठिनाइ भए पनि परिवर्तन गर्न सकिने अवसर हुने उनको भनाइ छ ।

महिलाले दुःख पर्दा रुनसक्ने भए पनि पुरुषले नसकेको क्लिनिकल साइक्लोजिस्ट डा विजय ज्ञवलीले बताइन् । उनका अनुसार उपचारका लागि आउने धेरै पुरुष रुने गरेका छन् र तिनलाई श्रीमती वा परिवारका अघि किन नरोएको भन्दा आफू कमजोर देखिन हुँदैन भन्ने मानसिकता पाइएको छ ।

अधिकारकर्मी सिर्जना सिंहले राजनीतिक परिवारमा छोरी वा बुहारीलाई अघि बढ्न सजिलो हुने बताइन् । राजनीतिमा संलग्न सासू, ससुरा र श्रीमान्का कारण आफूले सधैँ सहयोग पाएको उनले बताइन ।

युनिग्लोब विद्यालयकी प्रधानाध्यापक भवानी राणाले बालबालिकाको पहिलो विद्यालय घर नै भएकाले आधारभूत कुरा घरमा नै सिकाउनुपर्ने बताइन । विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै बालबालिकाका लागि ‘रोल मोडल’ बन्नसक्ने उनको भनाइ थियाे ।

व्यवसायी रितु वैद्यले विवाह र सन्तान जन्मिएपछि महिलाका जीवनमा धेरै चुनौती थपिने गरेको बताइन् । परिवारले सहयोग गर्दा विवाहपछि पनि महिलाले करियर अघि बढाएर सफल बन्नसक्ने उनको भनाइ थियाे ।