पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी

पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुईजना एआईजी मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्न निर्णय गरेको हो । दुई जना एआईजीपीमध्ये केसी अगाडि थिए । सशस्त्र प्रहरीमा केसीसँगै रामशरण पौडेल एआईजी थिए । केसीले अब १९ दिन सशस्त्र प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् । केसी आगामी १८ वैशाखसम्म आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउनेछन् । केसीसँगै पौडेलले पनि अवकास पाउनेछन् ।

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले चार वर्षे पदावधिका कारण सोमबार अवकाश पाएका थिए । सरकारले समयमै आईपीजी नियुक्त गर्न नसक्दा आजसम्म सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको थियो । केसीले अवकाश पाएपछि हालका डीआईजीहरूबाट सरकारले नयाँ आईजीपी नियुक्त गर्नेछ । जसका लागि अहिलेका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये दुई जनालाई सरकारले चाँडै एआईजी नियुक्त गर्नेछ । त्यही दुई जना एआईजीमध्येबाट एक जना आईजीपी नियुक्त हुनेछन् ।