चुनावी सहयात्रा र नयाँ राजनीतिक ध्रुविकरण

चुनावी सहयात्रा र नयाँ राजनीतिक ध्रुविकरण



पाँच दलीय गठबन्धनविरुद्ध एक्लै मैदानमा उत्रने उदघाेष गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अन्ततः सिद्धान्त: के कुरा नैतिकता र इमानसमेत भुलेर चुनावी तालमेलमा रमाउन थालेका छन् । ओलीको चुनावी रणनीति हेर्दा गठबन्धन र तालमेल मात्र होइन छुट्टै पार्टीलाई एमालेको चुनाव चिन्ह नै दिने हद्सम्म पुगेको देखिन्छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको पार्टीलाई सूर्य चिन्हमै चुनाव लड्न दिने सहमतिपत्रमा हस्ताक्षर गरेर ओलीले नयाँ प्रयोग सुरु गरेका छन् । निर्वाचन आयोगमा दर्ता भएका सबै दल एक भएर आए पनि एमाले एक्लै प्रतिस्पर्धामा उत्रने ओली अहंकार अन्ततः आफैसँग पार्टीे अध्यक्षमा भिडेका भीम रावलको– ‘के सूर्य चिन्ह बिक्री भएको हो ?’ भन्ने प्रश्नसँगै धुलिसाथ भएको छ ।

पाँच दलबीचको गठबन्धनलाई अप्राकृतिक र अपवित्रलगायत अनेकौ अपशब्द प्रयोग गरेका ओली अन्ततः आफ्नै निर्णयले हाँस्यपात्र बन्न थालेका छन् । गणतन्त्रविरोधी कमल थापाको पार्टीलाई सूर्य चिन्हमा चुनाव लड्न दिने निर्णय मात्र होइन होली वाइनका मुख्य पात्र एकनाथ ढकालको परिवार दलसँगको सहकार्य र पछिल्लो समय भ्रष्टाचारका आरोपी एवं नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेका पूर्वगृहमन्त्री गोविन्दराज जोशीसँगको सहकार्यको गृहकार्यले ओलीको सक्कली स्वरुप छर्लङग भएको छ । ओली सहयात्राको आधार हेर्दा गणतन्त्रविरोधी, भ्रष्टाचार आरोपी र होली वाइन पक्षधरको मिलन प्रष्ट देखिन्छ । त्यति मात्र होइन महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेकपा एवम् नारायणमान बिजुक्छेको नेमकिपा र ह्दयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग पनि ओलीले सहकार्यको हात फैल्याइरहेका छन् । निर्वाचन आयोगमा दर्ता भएका सबै दल एक भएर आए पनि एमाले एक्लै चुनाबी प्रतिस्पर्धामा उत्रन तयार छ भन्ने गुड्डी हाँक्दै हिडेका ओली मतदानको मिति नजिकिदै जाँदा कुन हालतमा पुगेका छन् भन्ने कुराको असली प्रमाण यो बाहेक अरु कुनै हुन सक्दैन ।

लोकतान्त्रिक र वामबीचको सहमति र सहकार्यबाटै प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने भन्ने प्रश्नमा वाम लोकतान्त्रिक शक्ति एकै ठाउँमा ध्रुविकृत भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीचको चुनावी तालमेल ओली अहंकारको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि बनेको पाँच दलीय गठबन्धनलाई आम चुनावसम्म कायमै राख्नुमा रहेको देखिन्छ । यस्तो सहकार्यको माध्यमबाट मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नु पाँच दलीय गठबन्धनको प्रमुख उद्देश्य हो ।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धामा उत्रन अनगिन्ती झिनामसिना दलसँग तालमेल र गठबन्धन गर्दैछन् । ओलीका यी सबै प्रयास पुनः सत्तामा फर्कन र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप क्षतविक्षत बनाउने योजना पूरा गर्नमा केन्द्रीत रहेको छ । तसर्थ अबको राजनीतिक ध्रुविकरण पाँच दलीय गठबन्धन भर्सेष सात दलीय गठबन्धन अर्थात् ०६२/०६३ को राजनीतिक परिवर्तनका पक्षधर भर्सेष यसलाई समाप्त पार्न चाहनेबीचको हुने पक्का देखिएको छ ।

गठबन्धनको अनुहार हेरेरै तपाईहरुलाई स्पष्ट हुनेछ कुन गठबन्धन के उद्देश्यबाट भएको हो भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइले पनि अबको राजनीतिक ध्रुविकरणको स्पष्ट संकेत देखाएको छ । यो परिवर्तन सहजै नआएको र यसलाई उल्ट्याउन अनेकौ प्रयास भइरहेको प्रचण्डको आशंकालाई पुष्टि गर्ने खालका पात्र र प्रवृत्तिहरुको सहकार्यमा एमालेले देखाएको रुचिले यसलाई थप पुष्टि गर्दछ ।

त्यसैले अबको राजनीतिक ध्रुविकरण वाम र लोकतान्त्रिक नभएर ०६२/०६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लैजाने र यसलाई उल्ट्याउने शक्ति र समुहबीच बन्ने देखिन्छ । बाख्राको बथान बाख्रासँगै भेडा भेडासँग भनेझै लोकतान्त्रिक र वामबीचको सहमति र सहकार्यबाटै प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कि नगर्ने भन्ने प्रश्नमा वाम लोकतान्त्रिक शक्ति एकैठाउँमा ध्रुविकृत भएका छन् । गणतन्त्र स्थापनाका लागि भएको १२ बुँदे सम्झौता धोका हो भन्ने कमल थापा र गोविन्दराज जोशी केपी ओलीसँगै देखिनु र गणतन्त्रका लागि सहकार्य गरेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव अर्कातिर देखिनुले राजनीतिक ध्रुविकरण कता उन्मुख छ भन्ने संकेत देखिन्छ । त्यसैले बर्ष २०७९ मा हुने स्थानीय, प्रदेश र संघीय सबै चुनावलाई दुई राजनीतिक ध्रुवबीच अबको राजनीतिक कोर्ष कता लैजाने भन्ने बिषयको जनमत संग्रहकै रुपमा हेर्नु पर्दछ । दुई ध्रुविय राजनीतिमा आम जनताले मतदान मार्फत् गर्ने फैसला कस्तो आउँला त्यसको नतिजा प्रतिक्षा गर्नुभन्दा अर्को विकल्पचाहिँ देखिँदैन ।