ओखलढुंगामा कांग्रेस र माओवादीको मात्र गठबन्धन

ओखलढुंगामा कांग्रेस र माओवादीको मात्र गठबन्धन

सिद्धिचरण नगरपालिका, खिजिदेम्बा, मोलुङ, मानेभञ्ज्याङ, सुनकोशी, चम्पादेवी र लिखु गाउँपालिकामामा कांग्रेस, चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्र


ग्लोब नेपाल
312.8k
Shares

ओखलढुंगा । ओखलढुंगामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गठबन्धन बनाएर स्थानीय निर्वाचनमा जाने सहमति बनेको छ । अन्य राजनीतिक दलहरु भने गठबन्धनमा सहभागी भएनन् । गठबन्धनका अन्य राजनीतिक दलसँग विभिन्न चरणमा वार्ता र छलफल भए पनि अन्ततः माओवादी र कांग्रेसबीच मात्र चुनावी तालमेल सम्भव भयाे ।

जिल्लाका ८ मध्ये १ स्थानीय तहमा प्रमुख र नगरपालिका सहित ३ स्थानीय तहमा उपप्रमुख र १४ वटा वडामा माओवादीले उम्मेदवारी दिनेछ । माओवादीले चिशंखुगढी गाउँपालिका प्रमुख, सिद्धिचरण नगरपालिका उपप्रमुख तथा मोलुङ र चम्पादेवी गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादीका उम्मेदवार हुनेछन् ।

माओवादीले प्रमुख पाएको चिशंखुगढीमा नेपाली कांग्रेसको उपप्रमुख र माओवादीले उपप्रमुख पाएका स्थानीय तहमा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाउने छ ।

जिल्लाको खिजीदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा भने केही वडामात्रै लिएर माओवादीले कांग्रेसलाई सहयोग गर्ने माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक निशान्त शर्मा र कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालद्वारा हस्ताक्षरित संयुक्त सहमति पत्रमा उल्लेख छ ।

सुनकोशी गाउँपालिकामा २, मानेभञ्ज्याङ गाउँपालिकामा १ र खिजीदेम्बामा १ सहित जिल्लाका १४ वडामा माओवादीको वडाअध्यक्ष जिताउन कांग्रेसले सहयोग गर्नेछ । लिखु गाउँपालिकामा दुवै दलले प्रमुखमा दावी गरेपछि सहमति जुटेको छैन । उक्त पालिकाको भागबण्डा मिलाउन प्रदेशमा सिफारिस गरिएको छ ।

तालमेललाई थप मजबुद बनाउन कांग्रेस नेता बालकृष्ण दाहालको संयोजकत्वमा कांग्रेसका ३ जना र माओवादीका ३ जना सदस्य रहेको कार्यदल समेत गठन गरिएको छ । कार्यदलको सदस्यमा खड्ग योगी, हेमसागर पराजुली र शन्त तामाङ छन् । कांग्रेसबाट विनोद केसी, सन्तोषबाबु थापा र आश्राचन राई छन् ।

गठबन्धनका साझेदार दलहरुले अन्य दलसँग साझेदारी गर्न नपाउने समेत कांग्रेस र माओवादीको सहमति पत्रमा उल्लेख छ ।