ओखलढुंगाको सिद्धिचरण, लिखु, मानेभञ्ज्याङ र खिजिदेम्बामा बागी उम्मेदवार

ओखलढुंगाको सिद्धिचरण, लिखु, मानेभञ्ज्याङ र खिजिदेम्बामा बागी उम्मेदवार


ग्लोब नेपाल
572.5k
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिका, लिखु, मानेभञ्ज्याङ र खिजिदेम्बा गाउँपालिकामा बागी उम्मेदवारी परेको छ । सिद्धिचरण नगरपालिकामा एमाले नेता सीताराम गुरुङले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने लिखु र खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस नेता क्रमशः राजन सुवेदी र महेश कोर्मोचाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यता, मानेभञ्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेसका जाग्रित भट्टराईले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

सिद्धिचरण नगरपालिकामा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ एमालेका पुराना नेता हुन् । २०५४ मा तत्कालीन रुम्जाटार गाविसका अध्यक्ष निर्वाचित भएका थिए । उनले आफ्नो उम्मेदवारी पार्टीभित्र व्यक्ति हाबी भएर गरिने सिन्डिकेटविरुद्ध भएको बताएका छन् ।

एमालेबाट इच्छाकुमारी गुरुङले मेयर पदमा मनोनयन दर्ता गरेकी छन् । उनी स्थानीय तहको प्रमुख पदमा टिकट पाउने जिल्लाकै एकमात्र महिला हुन् ।

यता, खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा कोर्मोचाले प्यानलसहित स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस ओखलढुंगाका पुराना र चर्चित नेता कोर्मोचा पूर्व जिल्ला सभापति हुन् ।

यसैगरी लिखु गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुवेदी नेपाली कांग्रेसबाट टिकटका आकांक्षी थिए । सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा लिखुमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धामा जुटेका छन् । कांग्रेसले अशोक कार्कीलाई टिकट दिएपछि राजन सुवेदीले बागी उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका हुन् ।

मानेभञ्ज्याङ गाउँपालिकामा उपप्रमुखमा स्वतन्त्र उम्मेदवार दर्ता गराएका भट्टराई नेपाल विद्यार्थी संघ ओखलढुंगाका पूर्वअध्यक्ष तथा १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि हुन् । स्थानीय तहमा बसेर राजनीति गरिरहेका भट्टराई टिकटका आकांक्षी थिए ।