काठमाडौं महानगरमा सिर्जना सिंहको जीतका सात आधार

काठमाडौं महानगरमा सिर्जना सिंहको जीतका सात आधार



स्थानीय चुनावको मनोनयन दर्ता उत्सवकै रुपमा देशभर सम्पन्न भएको छ । दुई ध्रुवमा विभाजित राजनीति उम्मेदवार मनोनयनमा पनि प्रष्ट देख्न सकिन्छ । खासगरी पाँच दलीय सत्ता गठबन्धन र टुक्रेटाक्रे दलहरु मिलाएर एमालेले तयार पारेको गठबन्धनबीच मुख्य चुनावी प्रतिस्पर्धा हुनेछ । देशभर उमेद्वारहरुका प्रचार अभियान जारी रहेका छन् । आन्तरिक असन्तुष्टि मिलाउन र चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरु लागिपरेका छन् ।

संघीय राजधानी भएकाले काठमाडौं महानगरको चुनावप्रति सबैको विशेष चासो देखिन्छ । काठमाडौं महानगरमा सत्ता गठबन्धनका उम्मेदवार एवम् कांग्रेस नेतृ सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापितबीचको प्रतिस्पर्धाले राजनीतिमा नयाँ तरंग उत्पन्न गरिदिएको छ । वास्तवमै भन्नुपर्दा एक सक्षम र इमान्दार महिला नेतृ सिर्जना सिंहको अगाडि विवादस्पद् छविका केशव स्थापित सुरुमै कमजोर र निरीह देखिन थालेका छन् । पहिलो पटक महिलालाई मेयरमा जिताउन काठमाडौं महानगरवासीहरु साँच्चै उत्साहित भएका छन् ।

समग्रमा तुलना गर्दा काठमाडौंको मेयरमा सिर्जना सिंह विजयी हुने सातवटा स्पष्ट आधारहरु देखिन्छन् । जसलाई निम्नअनुसार व्याख्या गर्न सकिन्छ–

१. मेयरमा पहिलो महिला
सिर्जना सिंहको उमेदवारीले काठमाडौं महानगरमा महिलालाई मेयर बनाउने अवसर जुराइदिएको छ । महिलाले अवसर पाएनन भन्नेदेखि सशक्तिकरण र राजनीतिमा महिला सहभागिताको वहस चाहिँ गर्ने तर अवसर नदिने प्रवृत्तिलाई परास्त गर्ने सुनौलो अवसर यसपटक काठमाडौं महानगरवासीले प्राप्त गरेका छन् । सिर्जना सिंहको उम्मेदवारीले महिलाहरुमा साँच्चै एउटा उत्साहको माहौल ल्याइदिएको छ । घरघरमा महिलाहरुले देखाएको उत्साहले सिर्जना सिंहको विजय यात्रालाई कसैले रोक्न नसक्ने माहोल बनेको देखिन्छ ।

काठमाडौवासीलाई आन्दोलनमा होमिन बाध्य पार्ने गरी गुठी विधेयक ल्याउने र लोकतन्त्रविरुद्ध षडयन्त्र गर्ने तथा पाँच बर्ष सरकार चलाउन दिएको जनमतको अवमूल्यन गर्ने एमालेको रबैया काठमाडौंवासीलाई कत्ति पनि मन परेको छैन

२. सक्षम र इमान्दार व्यक्तित्व
सिर्जना सिंह महिला मात्र नभएर एक सक्षम र इमान्दार व्याक्तित्व पनि हो । शिक्षित र सुसंस्कृत सिंहको छवि वास्तवमै कुशल र इमान्दार नेतृका रुपमा रहेको छ । सानैदेखि राजनीतिमा सकृय सिंहका लागि पदकै चाहना राखेको भए धेरै पहिले नै अवसर पनि जुर्ने थियो होला । तर उनले कहिल्यै राजनीतिमा लाभको पद प्राप्तिको लागि मरिहत्ते गरेको देखिएन । आफ्ना सम्पूर्ण प्रतिभा र क्षमतालाई घर व्यवहार सम्हाल्न र सामाजिक सेवाका क्षेत्रमा मात्र लगाएर उनी राजनीतिको चलखेलबाट टाढै बसिन् । किशोरी उमेरमै महिला संघ गोर्खाको सभापति तथा नेविसंघको सकृय राजनीतिमा लागेर लोकतन्त्रको पक्षमा उनले गरेको संघर्ष कतै लुकेको छैन । ढिलै भए पनि नेपाली कांग्रेसले उनको योग्यता र क्षमताको कदर गर्दै महानगरको मेयरमा टिकट दिएको छ । वास्तवमा सिर्जना सिंहको सक्षम र इमान्दार व्यक्तित्वको सर्वत्र प्रशंसा भएको सुनिन्छ । यो उनलाई चुनाव जिताउने महत्वपूर्ण आधार हो ।

३. गणेशमानको लिगेसी
नेपालको लोकतन्त्र र निष्ठाको राजनीतिका धरोहरका रुपमा गणेशमान सिंह र उनको परिवारलाई लिने गरिन्छ । वास्तवमा गणेशमानलाई नेपालको लोकतन्त्रको इतिहासबाट अलग राख्नै सकिदैन । कम्युनिष्टहरुसँग सहकार्य गरेर भए पनि निरंकुश राजतन्त्र ढाल्नुपर्छ भन्ने आन्दोलनको कमाण्डर सर्वोच्च नेता गणेहमान सिंहप्रति सबै दलको स्नेह र आदर उत्तिकै रहने गरेको छ । तिनै सर्वोच्च कमाण्डरकी बुहारी एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी धर्मपत्नीका रुपमा पनि सिर्जना सिंहलाई सबैले श्रद्धा गर्ने गर्दछन् । सिर्जना सिंहले बनाएको चिया नखाने र चाक्सीबारी नपुग्ने सिनियर नेताहरु प्रायः कोही पनि छैनन् होला । त्यस्ता त्यागी नेताको लिगेसी प्राप्त गर्ने सौभाग्य सिर्जना सिंहलाई मिलेको छ । यो उनले चुनाव जित्ने अर्को महत्वपूर्ण आधार हो ।

४. कांग्रेसको जनाधार
काठमाडौं नेपाली कांग्रेसको राम्रो जनाधार भएको ठाँउ हो । अघिल्लो पटक एमालेको मेयर विजयी हुँदा समेत उपमेयर काग्रेसले जितेको हो । आन्तरिक व्यवस्थापन गर्न नजान्दा कांग्रेस काठमाडौमा कमजोर देखिए पनि भोट संख्याका आधारमा कसैले कमजोर आक्न सक्ने अवस्था छैन । पार्टीको बलियो जनाधार सिंहले मेयर जित्ने प्रमुख आधार हो ।

५. गठबन्धनको बल
नेपाली कांग्रेस एक्लैले चुनाव जित्ने अंक गणितमा अर्को प्रमुख दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको मत जोड्दा एमालेको भन्दा कांग्रेसको झण्डै दोब्बर बढी मतान्तर देखिन्छ । जनता समाजवादी र जनमोर्चाको भोटलाई पनि काठमाडौमा कम आँक्न मिल्दैन । सिंहलाई मेयरमा जिताउन पाँच दलीय गठबन्धन एकजुट भएर लागेको देखिन्छ । सिंहको उम्मेदवारीप्रति कहिकतै असन्तुष्टि र विरोध छैन । तसर्थ गठबन्धनको बल सिर्जना सिंहलाई भारी मतका साथ चुनावमा विजयी बनाउन पर्याप्त देखिन्छ ।

६. एमालेको असफलता
पाँच वर्ष महानगरको नेतृत्व गरेको एमालेबाट काठमाडौं नगरवासी बाक्कदिक्क भएका छन् । अझै काठमाडौवासीलाई आन्दोलनमा होमिन बाध्य पार्ने गरी गुठी विधेयक ल्याउने र लोकतन्त्रविरुद्ध षडयन्त्र गर्ने तथा पाँच बर्ष सरकार चलाउन दिएको जनमतको अवमूल्यन गर्ने एमालेको रबैया काठमाडौंवासीलाई कत्ति पनि मन परेको छैन । यी सबै हिसाव चुक्ता गर्ने अवसरको रुपमा मतदाताले स्थानीय चुनावलाई लिएका छन् । त्यसैले उनिहरुको पहिलो रोजाई महिला नेतृ सिर्जना सिंह बन्ने पक्का छ ।

७. विवादास्पद र टेस्ट भइसकेका प्रतिस्पर्धी
एमालेको तर्फबाट मेयरको मैदानमा उत्रेका केशव स्थापित अत्यन्त विवादास्पद छविका व्यक्ति हुन् । कहिले एमाले कहिले प्रजा परिषद् त कहिले राजाको टिके मेयर बनेका स्थापित अडान भएका र स्वच्छ छविका नेता हुँदै होइनन् । अस्थिर र हावादारी गफ गर्ने नेताका रुपमा उनको छवि निर्माण भएको देखिन्छ । आफ्नै पार्टीको प्रदेश मन्त्रीबाट समेत बर्खास्त भएका स्थापित टेस्ट भइसकेका नेता हुन् । काठमाडौं नगरवासीले नयाँ अनुहार खोजिरहेका बेला स्थापितको उम्मेदवारीले निराशा मात्र बढाएको देखिन्छ ।

तसर्थ के युवा के महिला के जेष्ठ नागरिक के फरक क्षमता भएका मतदाता सबैको रोजाई महिला नेतृ सिर्जना सिंह नै रहेको देखिन्छ । यी सबै आधारहरुले काठमाडौं महानगरमा सिर्जना सिंहको जीत सुनिश्चित गरेको छ ।