निर्माण व्यवसायीको धर्ना कार्यक्रम स्थगित

निर्माण व्यवसायीको धर्ना कार्यक्रम स्थगित

मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा आएका केही प्रावधानहरु, क्रेडिट लाइनलगायतमा संशोधन एवम् खारेजीको माग राखेर महासंघले देशैभरि धर्ना कार्यक्रम आयोजना गरेको थियो ।


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । सरकारले वार्तामा बोलाएपछि नेपाल निर्माण व्यवसायी महासंघले गत बैशाख ८ गतेदेखि राजधानी केन्द्रित र १३ गतेबाट प्रदेश तथा जिल्लामा सुरु गरेको धर्ना कार्यक्रम स्थगित गरेको छ । महासंघले अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा वरिष्ठ उपाध्यक्ष एडी लामा, एसोसिएट उपाध्यक्ष रामजी पन्त, महासचिव रोशन दाहाल र बागमति प्रदेश उपाध्यक्ष बालकृष्ण थापा रहेका छन् ।

महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिअनुसार ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयानुसार सार्वजनिक खरिद अनुगमन कार्यालयबाट बैशाख १५ गते प्राप्त पत्रानुसार महासंघको आन्दोलनलाई सम्बोधन हुने गरी महासंघका पाँच जना प्रतिनिधिसमेतको वार्ता टोली गठन गरेको हुँदा आज बैशाख १५ गते बसेको महासंघको स्थायी समितिको बैठकको निर्णयअनुसार सात प्रदेश, ७७ जिल्लामा र केन्द्रमा जारी रहेको धर्ना कार्यक्रमहरु हाललाई स्थगित गरिएको व्यहोरा सम्पूर्ण सदस्यहरुलाई जानकारीका लागि अनुरोध छ ।’

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सरकारी टोली र महासंघका प्रतिनिधिबीच भोलि शुक्रबार साढे ११ बजे पहिलो वार्ता हुनेछ । मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा आएका केही प्रावधानहरु, क्रेडिट लाइनलगायतमा संशोधन एवम् खारेजीको माग राखेर महासंघले देशैभरि धर्ना कार्यक्रम आयोजना गरेको थियो ।