महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति

महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति


ग्लोब नेपाल
216
Shares

भक्तपुर । भक्तपुरका प्राध्यापकहरूले शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार
ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा उनीहरूले राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी रुपमा कपोलकल्पित भ्रमहरु नछर्न आग्रह गरेका हुन् ।

केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता महेश वस्नेतले कलेजमा पढाउने शिक्षकहरू अयोग्य भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले कलेज कुन कानुनअन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गरेका थिए । उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए । कलेजका विद्यार्थीका सर्टिफिकेटसमेत नक्कली भएकाे दाबीसहितकाे बस्नेतकाे अभिव्यक्तिकाे भिडियो भाइरल भएको थियो ।

कार्यक्रममा कलेजका प्राध्यापकहरूले अयोग्य शिक्षकशिक्षिकाहरूले पढाएका विद्यार्थीहरु पटकपटक कसरी त्रिभुवन विश्वविद्यालय टपर भए भनी प्रश्न गरेका थिए । प्राचार्य रूपक जोशीले कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण गरे ।

ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश वस्नेतद्धारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको, तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए । यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुठो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । कस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशासनका उमा भट्टलगायतले आफ्नो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न चेतावनीसमेत दिए ।