सगरमाथाको प्रवेशद्वार सिद्धिचरण राजमार्गको अवस्था जीर्ण (फोटो फिचर)

सगरमाथाको प्रवेशद्वार सिद्धिचरण राजमार्गको अवस्था जीर्ण (फोटो फिचर)


ग्लोब नेपाल
729
Shares

उदयपुर । सगरमाथाको प्रवेशद्वारका रुपमा उद्घोष गरी सिद्धिचरण राजमार्ग निर्माण कार्य सुरु गरेको २८ वर्ष बितिसक्दा पनि जीर्ण अवस्थामै गुज्रिरहेको छ । सिराहको मिर्चैया, कटारी हुँदै ओखलढुंगा, सोलुखुम्बू र खोटाङ जोड्ने सिद्धिचरण राजमार्गको कटारी–ओखलढुंगा खण्ड २०५१ सालमा नेपाली सेनाले निर्माण सुरु गरेको थियो । उक्त सडकको २०६४ सालबाट ओटाशील प्रविधिको कालोपत्रे गरिएको थियो । त्यसयता सडकको स्तोरोन्नति गर्ने कार्य कहिल्यै भएन । सडकको अवस्था पूर्णरुपमा खण्डहर बनेको छ । राज्यले सयौं सडक निर्माण कार्य गरे पनि यो सडकप्रति उदासिन देखाएको प्रष्ट हुन्छ ।

पर्यटन र जलविद्युत् विकासमा यो सडकको भूमिका महत्वपूर्ण मानिन्छ । सोलुखुम्बु जिल्लामा बनेका र बन्दै गरेका दर्जनौं जलविद्युत् कम्पनीहरुले कष्टपूर्ण तरिकाले निर्माण सामग्री एवम् औजारहरु ढुवानी गर्नुपरेको छ । त्यसैगरी अब बन्न लागेको दुधकोशी जलसाययुक्त विद्युत् आयोजनाका लागि समेत यो सडक महत्वपूर्ण छ ।

यसै सडकअन्तर्गतको बेतिनी भन्ज्याङ यस भेगको भेडेटारको रुपमा सम्भावना बोकेको क्षेत्र हो । सडक सुविधाको अभावले यो ठाउँसमेत ओझेलमा परेको छ । हलेसी महादेवको दर्शन गर्न आउने सयौं तराईंमूल र भारतीय पर्यटकहरु यसै सडक भएर यात्रा गर्नुपर्छ । सोलुखुम्बुको हिमाली भेगका निर्माण सामाग्री, रासन र अत्यावश्यक वस्तुहरु यही सडकबाट ढुवानी गरिन्छ ।

सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्नु परेको छ भने वर्षेनी दर्जनौं सवारी दुर्घटना हुने गरेका छन् । सडक स्तरोन्नतिका लागि स्थानीयले पटक पटक दबाब सिर्जना गरेका थिए । २०७७ साल चैत २९ गतेदेखि बैशाख ६ गतेसम्म सडक नै बन्द गरेर आन्दोलनसमेत भएको थियो । बजेट विनियोजन गरी सडक स्तोरोन्नति गर्ने सरकार र स्थानीयबीच सहमति भएपछि आन्दोलन स्थगित भएको थियो ।

सहमति भएर आन्दोलन स्थगित भएको वर्ष दिन बितिसक्यो तर समस्या ज्युकात्यू छ । सडकको स्तरोन्नति भए उदयपुर, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका दुर्गम गाउँहरुको विकास र समृद्धिमा टेवा पुग्ने थियो ।