उम्मेदवारलाई विष खुवाएको आरोपमा प्रदर्शन, हरिवन तनावग्रस्त

उम्मेदवारलाई विष खुवाएको आरोपमा प्रदर्शन, हरिवन तनावग्रस्त

नेता, कार्यकर्ता र उम्मेदवारलाई सगुन खाँदा ध्यान दिन प्रहरीको अनुरोध


ग्लोब नेपाल
405
Shares

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका माओवादी केन्द्रका वडाध्यक्षसहितका उम्मेदवारलाई विपक्षी कार्यकर्ताले विष मिलाएर मिठाई खुवाएको आरोपमा हरिवन बजार तनावग्रस्त भएको छ ।

आइतबार दिउँसो घरदैलो क्रममा वडाध्यक्षका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई विष सेवन गराइएको आक्षेप माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले लगाएका छन् ।

वडा अध्यक्ष इस्तिहारको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई उपचारका लागि हरिवनस्थित स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ । अन्य घाइतेको हरिवनमै उपचार चलिरहेको छ । अहिले माओवादीका कार्यकर्ताले प्रदर्शन गर्दा सर्लाहीको हरिवन बजार तनावग्रस्त छ ।

माओवादी कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गमा अवरोध गर्दा हजारौं सवारी साधन र यात्रु प्रभावित भएका थिए ।

सगुन खाँदा ध्यान दिन प्रहरीको अनुरोध
नेपाल प्रहरीले प्रसाद वा सगुन खाँदा ध्यान दिन आग्रह गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारका लागि घरदैलोमा पुगेका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहण गर्दा बेहोस भएको तथा चक्कर लागेर लडेको घटना बाहिरिएको भन्दै प्रहरीले सुरक्षित रहन भनेको हो ।

स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरू पाइएकोले निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारको घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार के।सी।द्वारा जारी सूचनामा भनिएको छ ।