प्रवासका नेपाली भन्छन् कांग्रेसलाई जिताऔं

प्रवासका नेपाली भन्छन् कांग्रेसलाई जिताऔं


ग्लोब नेपाल
1.7k
Shares

वासिंगटन डिसी । यही बैशाख ३० गते मातृभूमि नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। आज रातीदेखि प्रचार प्रसारका सबै गतिविधि बन्द हुँदैछ र मौन अवधि सुरु हुनेछ।

मौन अवधि सुरु हुनुभन्दा पहिले हामीले प्रवासमा रहेका केही प्रतिनिधि नेपालीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनका विषयमा रहेर केही जिज्ञासा राखेका थियौं। हामीले सम्पर्क गरेका प्रतिनिधि नेपालीहरु मध्ये यसपटक आफ्नो गाउँघर वडा तहका आफ्ना आफन्त र नातेदार मतदानका लागि निकै उत्साहित भएको आफुहरुले पाएको बताएका छन्।

नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्ट पार्टीले गठन गरेको स्थानीय निर्वाचन प्रवास प्रचार प्रसार समन्वय उपसमितिका संयोजक समेत हुन्। उनी यतिबेला आफ्नो गृहजिल्ला डोटीको स्थानीय निकायमा पार्टी उम्मेदवारहरुलाई जिताउन जुटेका छन्। उता नेपाली जनसम्पर्क समिति,पोर्चुगलका संस्थापक सभापति पूर्ण हमाल पनि यतिखेर आफ्नो गृहजिल्ला बाग्लुंगमा चुनावी माहौलमा नै सक्रिय छन्। भन्छन्-‘म पोर्तुगलमा ब्यापार ब्यबसाय गरि बसेको झण्डै २८ बर्ष भो, जनसम्पर्क समितिको संस्थापक अध्यक्ष,जनसम्पर्क समिति युरोपको बरिष्ठ उपाध्यक्ष, कांग्रेस महासमिति सदस्य र नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमितिको सदस्यको रुपमा म क्रियाशील छु र अहिले यही स्थानीय तहको निर्वाचनमा प्रत्यक्ष सहभागी हुन मातृभूमि आइपुगेको छु।

उता जर्मनीमा रहेका मनांगका दिल गुरुङको अहिलेको दैनिकी मनांग र ठमेलमा बित्ने गरेको बताउँछन्। यद्यपि उनी जर्मनीमै छन्। तर हरेक बिहान र साँझ उनी मनांग र ठमेलमा रहेका आफ्ना आफन्त र इष्टमित्रसंग नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्न लागिपरेका हुन्छन्। गुरुङ जनसम्पर्क समिति,जर्मनीका संस्थापक सभापति र समितिको युरोप क्षेत्रका संयोजक समेत हुन्। बिदेशमा रहेका पुराना कांग्रेस मध्ये पार्टी नेतृत्वले पत्याएका मध्ये एक जना हुन् गुरुङ। उनी पनि तन विदेश र मन नेपालमा रहेका मध्ये प्रतिनिधि नेपाली हुन्। मनांगमा उनका दाजु पाल्तेन गुरुङ र परिवार सबै स्थानीय निर्वाचनमा सक्रिय छन्। भन्छन् -‘ इमान्दार बन्नुपर्छ सबैले अब कांग्रेसलाई जिताउन पहल गरौँ,सुशासन र विकासका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन सहयोग गरौँ।’

टीकापुर कैलालीका हिक्मत थापा अफ्रिका महादेशको नाइजेरियामा बस्न थालेको १६ वर्ष भयो। उनी पनि नाइजेरियामा तन र मन चाहिं नेपाल गरी बसेका छन्। एनआरएन र नेपाली जनसम्पर्क समितिको जिम्मेवारी रहेर काम गरिरहेका थापा एनआरएनका पूर्व कोषाध्यक्ष र नेपाली काङ्ग्रेस जनसम्पर्क समिति समन्वय बिभाग,अफ्रिका महादेश समन्वय उपसमिति प्रमुखको रुपमा काम गरिसकेका थापा हाल प्रवास प्रचार प्रसार समन्वय उपसमितिको सदस्य छन् ।

गाउँको वडा तहसम्म आफुहरुले निरन्तर सम्पर्क गरेर कांग्रेसका पक्षमा जनमत निर्माण गर्न र रुख चिन्हमा मतदान गर्न अनुरोध गरिरहेको भन्दै उनी स्थानीय निकाय स्वायत्त र अधिकार सम्पन्न निकाय भएकोले पुर्वाधार,बिकास, सामाजिक सुरक्षा,शिक्षा, स्वास्थ्य, उद्योग लगायत बिकास र समृद्धिका लागि स्थानीय तहका जन प्रतिनिधिले काम गर्न सक्छन् भन्छन्। ‘नेपाली काङ्ग्रेसले अवलम्बन गरेको आर्थिक र राजनैतिक दृष्टिकोण र देशप्रतिको जिम्मेवारीले काङ्ग्रेसका उम्मेदवारहरु बिजय भए तुलानात्मक रुपमा उल्लेखित काम गर्न र समृद्धितर्फ गाउँ-नगरलाई लान सजिलो हुन्छ र सक्छन पनि । त्यसैले पनि सबै तहमा नेपाली काङ्ग्रेसको नेतृत्व चुनिनु पर्छ’ थापाको भनाइ छ।

धादिंगकी सीता अर्याल अहिले साइप्रसमा छिन्। उनलाई पनि स्वदेश फर्केर मतदानमा भाग लिने र कांग्रेसका उम्मेदवारलाई जिताउन प्रत्यक्ष सहयोग गर्ने रहर थियो। तर छुट्टी नमिलेका कारण कांग्रेस महासमिति सदस्य र नेपाली जनसम्पर्क समिति,साइप्रसकी सभापति रहेकी सीतालाई स्वदेश फर्कने अनुकुल मिलेन। तैपनि उनी पार्टीको संयन्त्र मार्फत प्रचार प्रसारमा सक्रिय छिन्। ‘कतिपय दिदीबहिनी त साइप्रसबाट भोट हाल्ने भनेर नेपाल जानु भएको छ,हामी जो जान सकेनौं आफ्ना आफन्त र छर छिमेकीलाई मतदानमा सहभागी भएर कांग्रेसका उम्मेदवारलाई जिताउन फोन गरेर अनुरोध गरिरहेका छौं। ‘अहिले कांग्रेसलाई जिताउन सकिएन भने सम्मृद्धिको यात्रा अरु वर्षौं पछि पर्न सक्छ,त्यसैले कांग्रेसलाई जिताउनु पर्छ भनेर अनुरोध गरेका छौं’ सात वर्षदेखि साइप्रसमा रहेकी उनले भनिन्। स्थानीय तहमा सुशासन कायम गर्न,नेकपा एमालेले नेपाली जनतामाथि गरेको स्वेच्छाचारी शासन र संविधानमाथिको पटक पटकको प्रतिगामी कदमलाई निस्तेज पार्न पनि अहिले कांग्रेस नेतृत्वको गठबन्धनको आवश्यकता रहेको भन्दै उनले पार्टी नीति अनुसार मतदानमा सहभागी हुन अपील गरेकी छिन्। कांग्रेस प्रवास प्रचार प्रसार उप्समितिकी पदेन सदस्य रहेकी अर्यालले साइप्रसमा पनि स्थानीय तहमा प्रचार प्रसार समिति बनाई सामाजिक संजाल मार्फत प्रचारको काम गरिरहेकी छिन्।

उता उपसमितिका अर्का सदस्य एवं नेपाली जनसम्पर्क समिति,बहराइनका सभापति पदमसुन्दर गुरुङ अहिले आफ्नो मताधिकार प्रयोग गर्नका लागि मातृभूमि पुगेका छन्। पूर्वी पाँचथरका गुरुङलाई आफ्नो पुर्ख्यौली थलोमा पुगेर मत दिने हुटहुटीले गाउँमा पुर्याउदैछ। उनलाई थाहा छ गाउँ पुग्न अझै पैदल हिंड्नुपर्छ। तैपनि उनी भन्छन् मन बाँधेर बस्ने सकिन त्यही भएर लागियो भोट हाल्न। १७ वर्षदेखि बहराइनमा बस्दै आएका उनी भन्छन्,-‘ भोलीको संघीय संसदको निर्वाचन जित्न पनि स्थानीय तहमा कांग्रेसले जित्नैपर्छ,कांग्रेसको आफ्नै एजेन्डाले जित्नुपर्छ। स्थानीय तह भनेको त्यही आधार स्तम्भ हो तसर्थ पनि स्थानीय तहमा कांग्रेसले जित्नुपर्छ। दिगो सरकार र सुशासनका लागि कांग्रेसलाई नै जिताउनुपर्ने रहेछ भन्ने अब सबै जनताले मिहिन ढंगले बुझेका छन्।’ बहराइनमा पनि आफुहरुले स्थानीय समिति गठन गरेर स्वदेश फर्केर मताधिकार प्रयोग गर्न उत्प्रेरित गर्ने र स्वदेश फर्कन अनुकूल नहुनेहरुले सामाजिक संजाल र फोनमार्फत आफ्ना आफन्त र छर छिमेकीलाई फोन गरेर मत माग्न अनुरोध गर्ने कार्य भैरहेको उनले जानकारी दिएका छन्।

यसरी प्रवासमा रहेका नेपालीहरु पनि स्वदेश फर्केर चुनाव र मतदानमा जुटेका छन् भने स्वदेश फर्कन नसक्नेहरु पनि आ आफ्नो तहबाट आफ्नो पार्टीका उम्मेदवारलाई भोट माग्न सक्रियतापूर्वक लागेका छन्।