विवेकपूर्ण न्यायको फैसला गर्ने दिन

विवेकपूर्ण न्यायको फैसला गर्ने दिन

‘दान’ को कुनै मूल्य हुँदैन। तसर्थ मत दिने बेला तपाईंहरुले आफ्नो विवेक प्रयोग गर्नुस्।



आज आम बालिग नागरिकले आफ्नो संविधान प्रदत्त अधिकार प्रयोग गर्दै गरेको एक ऐतिहासिक दिन । जनताले आफ्नो प्रतिनिधि आफैं छान्न पाउने यो दिनका लागि इतिहासमा धेरैले बलिदान गरेका छन्। कालो रातीको त्यो जहाँनिया शासन होस् वा निर्दलीय पंचायती व्यवस्था जनता आजको यही दिनको अधिकार आफ्नो हातमा लिनका लागि लडे, राजनीतिक दलहरुले नेतृत्व गरे। पुन:२०६२-६३ सालमा जनता लडे आफ्नो खोसिएको अधिकार फिर्ता लिन र त्यो आन्दोलनले राजतन्त्रको जरा नै उखेलिदियो। बल्ल जनताले राजनीतिक आन्दोलनको उपलब्धी प्राप्त गरे। अब त्यो लडाईं सकिएको छ। जनताले आफ्नो संविधान आफैं लेख्ने उपलब्धी प्राप्त गरेर र जनप्रतिनिधिहरुको हस्ताक्षरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखियो।

राजनीतिक लडाईंको यो उपलब्धी चानचुने होइन। कसैको बकसको तमसुक पनि होइन यो संविधान। यसका लागि जनता नै सर्वाधिकार सम्पन्न मालिक हो । जनताले आफ्नै प्रतिनिधि मार्फत मुलुकको भविश्यको मार्गरेखा कोरेको त्यही संविधानको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण नैसर्गिक अधिकार हो आवधिक निर्वाचन। हो,यही निर्वाचनले सही नेतृत्व चयन गर्न सक्दा मुलुकको भविश्य निर्धारण हुन्छ र संघीय शासन व्यवस्था पनि बलियो हुन्छ।

मुलुक र संघीय शासन व्यवस्थाको जग बलियो बनाउने यो निर्णायक घडीमा आम बालिग मतदाताहरुलाई भयरहीत वातावरणमा निष्पक्ष र विवेकको मतदान गर्नुहुन अनुरोध गर्दछौं। तपाईंको एक मतले यो व्यवस्था र मुलुकको भविश्यको यात्रा तय गर्नेछ।

जनता जिन्दावाद,जनता जनार्दन र जनता नै न्यायको अन्तिम फैसलाकर्ता जसले जसरी भनेपनि यसले जनताको सर्वाधिकारलाई नै स्वीकार गरेको छ। त्यसैले हामी आम जनताले निर्णय गर्ने आजको यो दिन विवेकको प्रयोग गरौँ। जनताले निर्वाचित गरेका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले भन्नु भएको छ, मान्छे ब्रेड (रोटी) ले होइन, ब्रेन (दिमाग/विवेक) ले चलेको हुन्छ। तसर्थ मान्छे भएर आज आफ्नो नैसर्गिक अधिकार प्रयोग गर्दै गर्दा यसलाई आत्मसाथ गर्नुहोला कि म मेरो विवेकलाई बन्धक नबनाई मेरो अधिकारको सदुपयोग गर्नेछु। तपाईंले विवेकपूर्ण मतदान गरेको परिणाम नै सबैभन्दा ठूलो खुशी हुनेछ जसले तपाईं हाम्रो अधिकारमाथि फेरि धावा बोल्ने छैनन्। जनता जनार्दन भएर न्याय दिने र इतिहासमा एकचोटी एकदिन आउने यो राजनीतिक पर्वलाई उल्लासको रुपमा मनाउँदै गर्दा आफ्नो मनलाई सोध्नुस्,आफु टेकेको धर्तीको एकमुठी माटो हातमा लिएर सोध्नुस् र ती नेपालका वीर सपुतहरुलाई स्मरण गर्नुस् जसले आज तपाईं हाम्रो यो अधिकार दिलाउनका लागि आ आफ्नो ज्यानको आहुती दिए हाँसीहाँसी।

तिनै शहीदहरुको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूति गरेको आवधिक निर्वाचन र संघीय शासन व्यवस्थाको जग मजबुत बनाउने अभियानमा तपाईंहरु त्यही संबिधान प्रदत्त मौलिक अधिकारको प्रयोग गर्दै हुनुहुन्छ।

‘दान’ को कुनै मूल्य हुँदैन। तसर्थ मत दिने बेला तपाईंहरुले आफ्नो विवेक प्रयोग गर्नुस्। आज तपाईंहरु मध्ये कतिपय पहिलोपटक मतदान गर्दै हुनुहुन्छ। यसरी पहिलोपटक मतदान गर्ने बेलाको उत्साह विशेष हुने गर्दछ। तपाईंले गर्ने मत ‘दान’ गर्व गर्न लायक होस्। आफ्नो वडा,टोल र गाउँघरमा सुख,दु:खमा साथ दिने नै तपाईंको प्रतिनिधि हो। अनि यस्तो प्रतिनिधि छान्नुस् जो शासक होइन,सेवक बनोस्। गाउँमा परेको बेला साथमा होस्,तपाईं हामीले तिरेको करको श्रोत सही ढंगले परिचालन गरोस्। त्यसैले आज तपाईं जनता जनार्दन भएर न्यायको फैसला गर्दैगर्दा आफ्नो नागरिक कर्तव्य सम्झनु होला। तपाईंको एक मतले तपाईं आफ्नो टोल, छिमेक र राष्ट्रको भविश्य परिवर्तन गर्न सक्ने क्षमता राख्नुहुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ जो दैनिक रुपमा तपाईं हामी आम सर्वसाधारणको जनजीवनमा भिजेको हुन्छ।

तसर्थ मुलुक र संघीय शासन व्यवस्थाको जग बलियो बनाउने यो निर्णायक घडीमा आम बालिग मतदाताहरुलाई भयरहीत वातावरणमा निष्पक्ष र विवेकको मतदान गर्नुहुन अनुरोध गर्दछौं। तपाईंको एक मतले यो व्यवस्था र मुलुकको भविश्यको यात्रा तय गर्नेछ।