लिभरपुललाई आठौं पटक एफए कपको उपाधि

लिभरपुललाई आठौं पटक एफए कपको उपाधि

सडनडेथमा लिभरपुल ६-५ ले जित निकाल्यो



लन्डन । चिरपरिचित चेल्सीलाई सडनडेथमा पराजित गर्दै शनिबार राति लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा निर्धारित समय (९०) र अतिरिक्त समय (३०) मिनेटसमेत गोलरहित बराबरीमा सकिएपछी खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

सडनडेथमा लिभरपुल ६-५ ले जित निकाल्यो । पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे । लिभरपुलका साडियो मानेले भने पेनाल्टी चुकाए ।

चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे । यस्तै, सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टी गोल हुन सकेन । लिभरपुल सिजनको चौथो उपाधि नजिक पुगेको छ । एफए कपको उपाधि जितेको लिभरपुलले यस अघि काराबाओ कपको उपाधी जितेको थियो ।

हाल लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ भने प्रीमियर लिगको उपाधि होडमा छ ।