सुदूरपश्चिममा ठूलो दल बन्दै कांग्रेस, तर नेतृत्वमा छैन सन्तुष्टि

सुदूरपश्चिममा ठूलो दल बन्दै कांग्रेस, तर नेतृत्वमा छैन सन्तुष्टि

गठबन्धन हुँदा पनि राम्रो पोजिसनमा छौं : पाठक


ग्लोब नेपाल
189
Shares

धनगढी । स्थानीय तहको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुग्नै लाग्दा सुदूरपश्चिममा नेपाली कांग्रेस पहिलो दल हुने निश्चित देखिन्छ । पछि पछि लागेको एमाले दोस्राे स्थानमा खुम्चिने भएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा सुदूरपश्चिममा पहिलो शक्ति बनेको एमाले यसपटक कमजाेर देखिएको छ । अघिल्लो पटक सुदूरपश्चिमका ८८ मध्ये ४० स्थानमा जीत हासिल गर्दा यसपटक एमालेले सुदूरपश्चिमबाट २५ देखि ३० स्थानीय तह जित्न सक्ने आकलन गरेको हो ।

कांग्रेसले सुदूरपश्चिमका ८८ मध्ये (७० प्रतिशत) अर्थात् करिब ६० पालिका जित्ने लक्ष्य राखेको थियो । कांग्रेस दार्चुलामा शून्यमा झरेको छ । सुदूरपश्चिमका अधिकांश पालिकाको नतिजा सार्वजनिक भइसक्दा कांग्रेस ४० भन्दा बढी पालिका जित्ने अवस्थामा छैन । सोचेअनुसार सुदूरपश्चिमका पालिकामा जित हासिल गर्न नसक्नुमा आन्तरिक समस्या प्रमुख कारण रहेको कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर बताउँछन् ।

‘हाम्रै आन्तरिक कारणले सोचेअनुसारको परिणाम पार्टीले ल्याउन सकेको देखिँदैन,’ बलायरले भने, ‘तर निराश हुनुपर्ने कारण छैन, प्रदेश, संघ र जिल्लाबीच राम्रो समन्वय भए आगामी दिनमा हामी सुदूरपश्चिममा बलियो हुने छौं ।’

उनले दार्चुला, बाजुरालगायतमा जिल्ला, प्रदेश र संघका कमिटीको राम्रो तालमेल नभएका कारण सोचेअनुसारको परिणाम नआएको बताए । उनले केही जिल्लामा कांग्रेसले सोचेभन्दा नराम्रो नतिजा ल्याएको भन्दै त्यसका बारेमा आगामी दिनमा समीक्षा गर्दै कमीकमजाेरी सच्याइने बताए ।

एमालेले सुदूरपश्चिममा कमजाेर बन्नुको पहिलो कारण पाँचदलीय गठबन्धनलाई मानेको छ । केही ठाउँमा भने आन्तरिक समस्याका कारण पनि पराजित भएको प्रारम्भिक बुझाई एमालेको छ । ‘सुदूरपश्चिममा सत्तारुढ पाँच दलको बलियाे गठबन्धन हुँदा पनि एमाले धेरै ठाउँमा थोरै मतले पराजित भएका छौं,’ एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने, ‘धेरै ठाउँमा गठबन्धनलाई नै जितेको छ, सबै दलहरू एक्लाएक्लै लडेको भए हामी २०७४ कै अवस्थामा हुने थियौं, केही स्थानमा भने आन्तरिक समस्याका कारण पनि उम्मेदवार हारेका छन् ।’ 

अहिलेसम्म एमालेले सुदूरपश्चिमका २४ पालिकामा जित हासिल गरेको छ । डडेल्धुरामा भने एमालेले खातासमेत खोल्न सकेन । खासगरी ठूला दुई दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलले एमालेलाई समस्या भएको सचिव पाठकले बताए । ‘तर पनि हामी राम्रो अवस्थामा आएका छौं,’ पाठकले भने, ‘दार्चुला, बैतडी, बाजुरा र अछाममा एमालेको उपस्थिति झनै बलियो बनेको छ, डडेल्धुराबाहेक अन्य जिल्लामा पनि निरास हुने गरी नतिजा आएको छैन, २५-देखि ३० पालिका जितिने देखिन्छ, सुदूरपश्चिममा हामी सन्तुष्ट नै छौं ।’

पाँचदलीय गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारले धेरै ठाउँमा जित हासिल गरेको बताउँदै पाठकले यसबाट जनताको पहिलो रोजाइमा एमाले रहेको पुष्टि हुने बताए । उनले कैलाली र कञ्चनपुरका एमालेको आन्तरिक कारण नै नतिजा राम्रो नआएको बताए । त्यसैगरी कैलालीमा नागरिक उन्मुक्ति पार्टीले जातीय भोट पाउँदा त्यहाँ अरु पार्टी कमजाेर बनेकाे उनले बताए ।

सुदूरपश्चिमकै एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा भने एमालेकै नेता तथा कार्यकर्ताबाट घात भएको उनको बुझाई छ । ‘धनगढीमा सके चुनाव जित्ने नभए राम्रो अवस्थामा आउने गरी हामीले तयारी थालेका थियौं,’ पाठकले भने, ‘तर पार्टीकै नेता र कार्यकर्ताको असहयोगले हाम्रो अवस्था कमजाेर बनेको छ, यस विषयमा पार्टीभित्र गम्भीर छलफल हुने छ ।’

पहिलाभन्दा राम्रो पोजिसनमा आएका छौं  : चौधरी
माओवादी केन्द्रले २०७४ मा सुदूरपश्चिमबाट १० स्थानीय तह जितेको थियो । यसपटक १४ पुर्‍याएको छ । उसले सुदूरपश्चिमका १७ पालिका जित्ने अनुमान गरेको छ ।

निर्वाचनअघि भने सुदूरपश्चिमका २५ देखि ३० पालिकामामा जित हासिल गर्ने माओवादी केन्द्रको लक्ष्य थियो । लक्ष्यअनुसार प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण गठबन्धनको मर्म र उद्देश्य जनतालाई बुझाउन नसक्नु रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य वीरभान चौधरी बताउँछन् । 

‘फरक–फरक विचार भएका दलहरूबीच तालमेल भयो,’ चौधरीले भने, ‘सबै दलका कार्यकर्तालाई हामीले तालमेलको औचित्य बुझाउ सक्नुपर्दथ्यो, तर जनतालाई बुझाउन सकिएन, जसकारण गठबन्धन पूर्ण रूपमा सफल हुन सकेन, चुनावी तालमेल सफल हुन नसक्दा केही ठाउँ हामीले गुमाउनु परेको छ ।’

मध्यम अपेक्षा थियो  : सुवेदी
एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी स्थानीय तहमा सुदूरपश्चिममा आएको परिणामबाट निरास नभए पनि सोचेअनुसारको परिणाम नआएकोप्रति चिन्तित छ ।
पार्टी निर्माण भएको केही समयमै चुनावमा जानुपरेका कारण अहिलेको चुनावबाट ठूलो आसा भने नराखेको एकीकृत समाजवादी का सुदूरपश्चिम प्रदेश सचिव दिनेशचन्द्र सुवेदी बताउँछन् । ‘संगठनात्मक रूपमा हामी तयार भएका थिएनौं,’ सुवेदीले भने, ‘त्यसैमाथि ढिलो गरी मात्रै गठबन्धन हुँदा जनतालाई बुझाउन समस्या भयो, जसकारण सोचेअनुसार परिणाम आउन सकेन, तर हामी असन्तुष्ट छैनौं ।’ चुनावको अन्तिम परिणाम नआइसकेका कारण अझै पनि केही स्थानमा आफ्नो पार्टीले जित हासिल गर्ने उनको भनाइ छ ।