प्रधानमन्त्रीको गृह जिल्लामा एमाले क्लीन स्वीप

प्रधानमन्त्रीको गृह जिल्लामा एमाले क्लीन स्वीप


ग्लोब नेपाल
567
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेकपा एमाले क्लीन स्वीप भएको छ । यसपालीको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा एमाले पराजित भएको हो ।

प्रधानमन्त्रीकै गृह जिल्ला भएपनि डडेलधुरामा गठबन्धनबीच तालमेल हुन नसकेपछि दलहरु एक्लाएक्लै निर्वाचन लडेको डडेलधुराका कांग्रेस सभापति भीम साउदले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सात मध्य ४ स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने बाँकी तीन स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए।

त्यस्तै सातमध्य पाँच स्थानीय तहको उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने दुई स्थानीय तहको उपप्रमुख माओवादी केन्द्रले जितेको छ । उपप्रमुख पदमा पनि एमालेका कुनैपनि उम्मेदवारले जित हासिल गर्न सकेन ।
अघिल्लो स्थानीय तह निर्वाचनमा अमरगढी नगरपालिकाको मेयर र उपमेयर नै एमालेले जितेको थियो । एमालेको अघिल्लो नतिजा उल्ट्याउँदै यसपटक दुबै पदमा कांग्रेसका उम्मेदवार विजयी भए ।

नगरपालिकाको प्रमुख निर्वाचित कांग्रेसका डिल्लीराज जोशीले ३ हजार ६१९ मत पाए । यहाँ नेपाली कांग्रेस (बी.पी.)का हरिप्रसाद भट्टराईले ३ हजार ४२६ मत पाए । एकीकृत समाजवादीका संगिता कुमारी भन्डारीले ७६७ मत पाइन् भने माओवादी केन्द्रका लक्ष्मण सिंहले ५९३ मत ल्याए ।

अघिल्लो निर्वाचनमा एमालेका विशेश्वरप्रसाद ओझा ३ हजार ७६८ मतसहित प्रमुखमा निर्वाचित भएका थिए । उपप्रमुख निर्वाचित भएका संगीता कुमारी भन्डारीले ३ हजार ५१७ मत पाएका थिए ।

यसपटक भने एमालेका यज्ञराज अवस्थीलाई ५९३ मतान्तरले पराजित गर्दै कांग्रेसकी पार्बती देवी झुकाल उपप्रमुख चुनिइन् । उपमेयर पदमा नै एकीकृत समाजवादीका १ हजार ७५ मत ल्याए ।

यता परशुराम नगरपालिकाको प्रमुखमा कांग्रेसकै भरत बडायर जोशी ५ हजार ९४२ मतसहित विजयी भए । यहाँ एमालेका केशव बहादुर बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त ग¥यो । माओवादी केन्द्रका शेरसिंह माल ५ हजार ८०५ मतसहित दोस्रो स्थानमा रहे ।

उपमेयरतर्फ पनि एमाले तेस्रो स्थानमै देखिएको छ । यहाँ माओवादी केन्द्रकी विमला कुमारी बोहरा ५ हजार ८८५ मतसहित उपमेयर निर्वाचित भइन् । कांग्रेसकी कलापती देवी बोहराले ४ हजार ५९३ मत ल्याउँदा एमालेकी गोमती देवी पन्तले ३ हजार २९६ मत पाइन् ।

अघिल्लो निर्वाचनमा आलिताल गाउँपालिकामा कांग्रेस विजयी भए पनि यसपटक भने गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले गर्ने भएको छ । अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्रका शेरसिंह पार्की २ हजार ३८९ मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन् । यहाँ कांग्रेसका बल बहादुर गुरुङले २ हजार २२४ मत पाए । एमालेका मीन बहादुर बोगटी १ हजार ४६९ मत ल्याउँदै तेस्रो स्थानमा देखिए ।

उक्त गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी मैना कुमारी रावल २ हजार ६०२ मतसहित निर्वाचित भइन् । उपाध्यक्षको प्रतिस्पर्धामा पनि एमाले तेस्रो स्थानमा देखिएको छ । कांग्रेसकी जला कुमारी विष्टले (बोगटी) २ हजार २४१ मत ल्याउँदा एमालेकी शान्ती भट्ट (जोशी)ले १ हजार ६४८ मत मात्रै प्राप्त गरिन् ।

गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस
प्रधानमन्त्रीको गृहपालिका समेत रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुुबैमा कांग्रेसले बाजी मारेको छ । कांग्रेसका ईन्द्र बहादुर कार्की ३ हजार १८४ मत सहित अध्यक्ष निर्वाचित भए । यहाँ नेपाली कांग्रेस बीपीका सुरेन्द्रबहादुुर मालीले १ हजार ६०५ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकै ज्ञानु कुमारी सेटी ३ हजार १३ मतसहित निर्वाचित भए भने एमालेका इन्द्र बहादुर महरा १ हजार ७०३ मत पाए । यहाँ माओवादी केन्द्रका चन्द्र बहादुर मल्लले ८७७ मत पाए ।

यता अघिल्लो निर्वाचनमा एमाले विजयी भएको नवदुर्गा गाउँपालिकाको अध्यक्षमा यसपटक कांग्रेसका लक्ष्मी प्रसाद अवस्थी २ हजार ८७९ मत सहित अध्यक्ष निर्वाचित भएका छन् । यहाँ एकीकृत समाजवादीका कबीन्द्र बहादुर बिष्ट २ हजार ६०६ मत पाउँदा नेपाली कांग्रेस बीपीका गोकुल बहादुर शाहीले १ हजार ३८५ मत पाए ।

उक्त गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी निर्मला कुमारी बोगटी ३ हजार २०८ मतले विजयी हुँदा एकीकृत समाजवादीकी चन्द्रा देवी रुपालीले २ हजार ३६७ मत पाइन् । एमालेका बिर बहादुर बिष्टले ७७९ मत पाए ।

अघिल्लो निर्वाचनबाट अध्यक्ष र उपाध्यक्ष दुबै माओवादी केन्द्रले जितेको अजयमरु गाउँपालिकामा यसपटक अध्यक्ष मात्रै जितेको छ । माओवादी केन्द्रका उमेश प्रसाद भट्ट २ हजार ४६९ मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन् । यहाँ एमालेका पदमबहादुर पालले २ हजार २९७ मत पाएका छन् भने कांग्रेसका टेकराज पाण्डेयले १ हजार ९८१ मत पाए ।
कांग्रेसकी बसन्ती पाल २ हजार ५६५ मतसहित गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भइन्। यहाँ माओवादी केन्द्रकी उम्मेदवार कलावती भाडले २ हजार ३०९ मत पाइन् । कांग्रेस बीपीका रामचन्द्र ऐरले १ हजार २७२ मत पाए ।

भागेश्वर गाउँपालिकामा पनि कांग्रेसकै हेमराज चटौत अध्यक्ष निर्वाचित भएका छन् । उनी २ हजार ३११ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् । भागेश्वर गाउँपालिकामा एमालेले दोस्रो स्थान कायम गरेको छ । एमाले उम्मेदवार रामबहादुर शाहीले १ हजार ७८ मत पाए भने माओवादी केन्द्रका विष्णुप्रसाद पाण्डेयले १०४१ मत ल्याए ।

उपाध्यक्षतर्फ कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित निर्वाचित भएकी छन् । भागेश्वरमा माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत ल्याइन् भने कांग्रेस बीपीका नरेन्द्र ठकुराठीले ७९३ मत पाए ।