गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो।

समितिले जेठ १४ गते साँझ सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झन्डा एवं ब्यानर सजाइ साँझ दीपावली गर्ने र आम नागरिकलाई दीपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ भने १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

साथै सोही दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दीपावली गर्ने कार्यक्रम तय भएको छ। उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय निकाय एवं प्रतिष्ठानहरूमा राष्ट्रिय झन्डा फहराएर १४, १५ र १६ जेठमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ।