पीडित युवतीको घरमा पुग्यो प्रहरी, काउन्सिलिङ गर्दै

पीडित युवतीको घरमा पुग्यो प्रहरी, काउन्सिलिङ गर्दै

सभामुख अग्नि सापकोटाले सरकारलाई शीघ्र घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन


ग्लोब नेपाल
945
Shares

काठमाडौं । ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो । प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयकाबाट प्रहरी टोली उनको घरमा पुगेको हो ।

कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले पीडितलाई भेटेर कुराकानी गरिएको र कानुनी रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । प्रहरीले उनको परिवारसँग पनि भेट गरेको छ ।

बुधबार टिकटकमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफू बलात्कृत भएको बताएकी थिइन् । भिडियो भाइरल बनेपछि प्रहरी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायतले उनको खोजी गरेका थिए । अधिकारकर्मीसँगै प्रहरीले पनि उनकोबारेमा जानकारी लिएको हो ।

जबरजस्ती करणी सम्बन्धी कसुरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले किटानी जाहेरी दिन नसक्ने अवस्था आएको छ । यस्तो अवस्थामा कुन कानुनलाई आधारमा मानेर अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रहरीले छलफल गरिरहेको छ ।

यो विषय संसदमा समेत प्रवेश गरेको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले यो विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले सरकारलाई शीघ्र घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका दिए ।

सामाजिक सञ्जालमार्फत तरंग नै पैदा गरेको यो घटनामा सबत्र चासो देखिएको छ । २० वटा भिडियोमा त्यो बेलाको घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि उनले हद म्यादका कारण न्याय नपाउने अवस्था रहेको भन्दै सर्वत्र आलोचना भएको थियो । उनले त्यसपछि भिडियो बनाउँदै आफू बलात्कृत हुँदा पनि न्याय नपाउने अवस्था आएको बताएकी थिइन् ।