फेरि इन्धनमा भारी मूल्यवृद्धि

फेरि इन्धनमा भारी मूल्यवृद्धि

पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ६३ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँ पुगेको छ


ग्लोब नेपाल
189
Shares

काठमाडौं । हरेक क्षेत्रमा अकासिएको चर्को मुल्यवृद्धिको मार खेप्न बाध्य आमउपभोक्ताको ढाड सेक्नेगरी सरकारले फेरि इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । भारतबाट ल्याउने बेलामा नै भाउ बढेको भन्दै नेपाल आयल निगमले अहिले पुनः खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

आयल निगमले आइतबार राति १२ बजेदखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । निगमले गरेको यस्तो निणर्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्ने भएको छ ।

यसैगरी, निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ सय रुपैयाँका दरले बढाएको छ । अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रुपैयाँ पुगेको छ । यसभन्दा एकसाता अघि मात्र सरकारले खाना पकाउने ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १६ सय रुपैयाँ पु-याएको थियो । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ थियो ।

यसभन्दा एक सातअघि मात्र आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्यमा भारी मात्रामा बढाएको थियो । अहिले फेरि निगमले सोही कारण देखाउँदै आमउपभोक्ताको ढाड सेक्नेगरी यति धेरै मूल्य बढाएको हो । निगमका अनुसार यसरी बढाइएको नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू हुनेछ ।

निगमका सहप्रवक्ता पुष्कर कर्कीले भारतबाट ल्याउने बेलामा नै खरिद मूल्य बढेका कारण निगमले बाध्य भएर मागअनुसारको आयात धान्न नसक्ने भएपछि यसरी मूल्य बढाउनुपरेको बताए । उनले अझै निगमलाई इन्धन आयातमा घाटा भइरहेको पनि बताए ।

गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन लगत्तै सरकारले यो पटकसहित लगातार दुईपटकसम्म इन्धनको मूल्य बढाएको हो । आयल निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य पनि बढाएको छ । निगमले बढाएको यस नयाँ मूल्यअनुसार हवाई इन्धनमा १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १ सय ६६ रुपैयाँ तोकिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब रुपैयाँ, डिजलमा ३ अर्ब ४० करोड रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमको दाबी छ ।

सम्बन्धित उपभोक्ता अधिकारकर्मीले सरकार यसरी बढाएको चर्को मूल्यवृद्धिले अब न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई दैनिक भन्सा चलाउन समेत निकै कठिन हुने बताएका छन् ।