अमेरिकामा अर्को क्रुर आक्रमण, १९ जना बालबालिकाको हत्या

अमेरिकामा अर्को क्रुर आक्रमण, १९ जना बालबालिकाको हत्या

प्राथमिक विद्यालयमा अन्धाधुन्द गोली प्रहार



अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको घटनामा कम्तीमा १९ जना कलिला बालबालिका र दुई शिक्षकको मृत्यु भएको छ। मंगलवार दिउँसो टेक्सासको रब इलेमेन्ट्री विद्यालयमा यो गोलीकाण्डको घटना भएको हो। सीएनएनका अनुसार एक १८ वर्षीय किशोरले विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको थियो। जसका कारण क्षा २,३ र ४ मा अध्ययनरत कलिला विद्यार्थीहरु गोली प्रहारको शिकार हुन पुगे।

स्थानीय समय अनुसार दिउँसो करीब १२:३० बजेतिर भएको यो क्रुर घटनाका आक्रमणकारी किशोरको पनि घटनास्थलमा नै मृत्यु भएको टेक्सास राज्यका गभर्नरले जनाएका छन्। सुरक्षाकर्मीको कारवाहीमा परी साल्भाडोर रामोस नामका ती आक्रमणकारी किशोरको घटनास्थलमा नै मृत्यु भएको छ।

सुरक्षाकर्मीका अनुसार विद्यालयमा जानु पहिले ती किशोरले आफ्नी हजुरआमाको हत्या प्रयास गरेका थिए। गोली लागि घाइते भएकी उनकी हजुरआमाको चिन्ताजनक अवस्थामा उपचार भैरहेको छ। आक्रमणकारी किशोरले पेस्तोल र राइफल प्रयोग गरी गोली चलाएको हुनसक्ने प्रहरीको अनुमान छ। तीन दिन पहिले मात्र ती किशोरले दुई राइफलको तस्वीर आफ्नो इन्स्टाग्राममा पोष्ट गरेको पनि प्रहरी अधिकारीहरुले उल्लेख गरेका छन्। ती किशोर युभाल्डेस्थित विण्डीज नामक फास्टफुड रेष्टुरेन्टमा काम गर्थे।

घटना भएको विद्यालय युभाल्डे भन्ने शहरमा पर्दछ जुन मेक्सिको र टेक्सास सीमा नजिक रहेको छ। दश वर्ष यता विद्यालयमा भएको गोलीकाण्डमा सबैभन्दा बढी बालबालिका मारिएको यो पहिलो घटना हो। यस पहिले सन् २०१२ मा कनेक्टिकट राज्यको एक विद्यालयमा भएको यस्तै घटनामा ६ र ७ वर्षका २० जना स्कुले बालबालिकासहित २६ जनाको मृत्यु भएको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्। मंगलवारको गोलीकाण्डको यो हृदयविदारक घटनालाई कालो मंगलवार भनिएको छ।